post-slider post-slider

सुनिल–विकलमाथि अनुसन्धान गर्न सात दिन म्याद थप

Image
A A

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले थप सात दिन अनुसन्धानका लागि म्याद थप गरेको छ।

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा विकल र सुनिलमाथि अनुसन्धान गर्न विशेष अदालतले सात दिनको अनुमति दिएको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले बुधबारबाट लागू हुनेगरी माघ १७ गतेसम्मका लागि म्याद थपको अनुमति दिएको हो।

नेसनल पेमेन्ट गेटवे खरिदको २३ करोड २७ लाख ५८ हजार भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा उनीहरूविरूद्ध अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा छानबिन सुरू गरेको छ।

बुधबार पक्राउ परेका विकल र सुनिललाई अख्तियारले बिहीबार विशेष अदालतमा उपस्थित गराएको थियो।

दुवै जनाले आफूहरूलाई हिरासतमा नराख्न र म्याद थप नगर्न माग गरेका थिए।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका उनीहरूले गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अख्तियारले अनुसन्धान अगाडि बढाएको छ।

दुवै जनाले नेपाल राष्ट्र बैंकको स्वीकृतिविना विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदै अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक नियुक्ति लिएको भेटिएको अख्तियारको दाबी छ।

विकलको हकमा उनले अमेरिकाको आवासीय अनुमतिसमेत लिएको देखिएको छ।

उनीहरूले कसुरसम्बन्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भएकाले पक्राउ पूर्जी दिइ हिरासतमा लिइएको अख्तियारले जनाएको छ।

‘अनुसन्धानका कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई २०८० माघ १० गते नियमानुसारको जरूरी पक्राउ पूर्जी दिइ हिरासतमा लिइ थप अनुसन्धान भइरहेको छ,’ अख्तियारले विज्ञप्ति निकालेर भनेको छ।

 

Tags: