post-slider post-slider

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक पूर्ण क्षमतामा सञ्चालन

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलोपटक पूर्ण क्षमतमा सञ्चालनमा आएको छ।

दसैं सुरू भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाइ उडान बढेको हो।

त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ।

सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्लो दिनमा दैनिक दुईतर्फी ११० देखि ११३ उडान–अवतरण भएको विमानस्थल कार्यालयले बताएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार दसैंको घटस्थापना यता हवाइ उडानमार्फत दैनिक १६ हजारदेखि १७ हजार यात्रु आवतजावत गरिरहेका छन्।

गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ ११३ उडान भएका थिए। यो एक दिनमा भएको अहिलेसम्मकै बढी उडान संख्या हो।

गत असोज ३० गते ११० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक ११० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन्।

अन्तर्राष्ट्रिय उडानतर्फ जाडो मौसमका लागि बढी उडानको माग भइरहेको महाप्रबन्धक तिवारीले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक २७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन्।

महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी झन्डै पाँच सय उडान भइरहेको बताए।

विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबारमात्रै आन्तरिकतर्फ १५ हजार बढीले हवाइ यात्रा गरेका थिए।

 

Tags: