post-slider post-slider

सजिन थाले घाटहरू (तस्बिरहरू)

Image
A A

जनकपुरधाम- अराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत रूपमा सुरू भइसकेको छ। 

‘नहाय–खाय’ नुहाइधुआइगरी चोखो खानेकुरा ग्रहण गरकी छठका ब्रतालुहरू शनिबार खरना मनाउँदै छन्।

पापको क्षयका रूपमा मानिएको खरनाका लागि बिहानैदेखि ब्रतालुहरू तयारीमा जुटिसकेका छन्।

गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको अरिपणले भूमि  सुशोभित गरी ब्रतालु दिनभर निर्जला ब्रत बस्छन्।

खरानाका दिन ब्रतालुहरू बिहानैदेखि ब्रतबसी साँझको समयमा सफासुग्घर घरमा पूजा गर्ने गर्छन्।

सख्खरको खीर, मुला, मिठाइलगायतका सामग्री खरनाको प्रसादका रूपमा चढाइन्छ। ब्रतालुहरू खरना पूजापछि यही प्रसाद ग्रहण गरेर उदाउँदो सूर्यलाई अघ्र्य नदिउन्जेल निराहार ब्रत बस्नुपर्ने हुन्छ।

तेस्रो दिन अर्थात आइतबार अस्ताउँदो र चाथो दिन सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिइसकेपछि छठ पर्व सम्पन्न हुनेछ।

शुद्धता र पवित्रताको विशेष ध्यान दिइने छठ पर्व पोखरी, नदी, सरोबरलगायतका जलासयमा मनाइने गरिन्छ। र, त्यसका लागि घाटहरू सजाउने काम सुरू भइसकेको छ।

जनकपुरधामको धनुषसागर, गंगासागर, अङ्गराजसर, अग्निकुण्ड, बिहारकुण्ड, दशरथ तलावलगायतका दर्जनौं पोखरीमा छठ पर्व मनाइन्छ।

यी पोखरीहरूमा हजारौंको संख्यामा ब्रतालुका साथै परिवारका सदस्यहरू छठ पर्व मनाउन पुग्ने गरेका छन्।

छठ पर्व हुने जलासय र नदी छेउछाउमा सरसफाइ गरी घाटहरू सजाउने कामले यतिबेला तीब्रता पाएको छ।

स्थानीय युवा क्वलबहरूले घटमा सरसजावटका लागि संयोजन गरिरहेका छन्। टेन्ट, पाल, भिलीमली बत्तीलगायतका सामग्री राखेर घाट सजाउने काम भइरहेको छ।

आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने  भए पनि साँझ खरना सकेलगत्तै कतिपय ब्रतालुहरू पूजा सामग्री घाटमा पु¥याउने गरेका छन्।

जनकपुरस्थित गगांसागर छठ पूजा समितिले खरनाकै दिन पूजा सामग्री घाटमा नल्याउन ब्रतालुहरूसँग अनुरोध गरेको छ।

समितिका पूर्वसहसचिव सोनु निधिले खरानाका दिन घाटमा पूजा सामग्री ल्याउन रोक लगाइएको बताए।

उनले सन्ध्याकलीन अघ्र्य दिइने दिन बिहान पाँच बजेपछि मात्र पूजा सामग्री ल्याउन पूजा समितिले ब्रतालुहरूलाई अनुरोध गरेको जानकारी दिए।

सन्ध्याकालीन अघ्र्य दिन एक दिनमात्र बाँकी छँदा जनकपुरधामसहित आसपासका ग्रामीण क्षेत्रहरूमा छठको रौनक बढेको छ। छठ पूजाका लागि चाहिने केरा, उँखु, ढाकीलगायतका सामग्री किनमेल गर्नेहरूको बजारमा ठूलो भिडभाड देखिएको छ।

Tags: