post-slider post-slider

लिबियाको एउटा सहरमा मात्रै ‘एक हजार मानिसको शव’

Image
A A

काठमाडौं- लिबियामा ठूलो बाढीबाट प्रभावित एउटा सहरमा मात्रै एक हजार मानिसको ज्यान गएको त्यहाँको भ्रमण गरेका एक वरिष्ठ अधिकारीले बताएका छन्।

देशको पूर्वमा अवस्थित सरकारका ती मन्त्रीले रोएटर्स समाचार संस्थासँग कुरा गर्दै ‘त्यहाँ जताततै शवहरू रहेको’ बताएका छन्। डेर्ना बन्दरगाह सहर हो।

दुईवटा बाँध र चारवटा पुल भत्किएपछि एक लाख जनसंख्या रहेको डेर्ना सहरको धेरैजसो भाग डुबानमा परेको छ।

ड्यान्यल नामक समुद्री आँधीका कारण अन्य तटीय क्षेत्रहरूमा पनि विनाशकारी बाढी निम्तिएको छ। यो समुद्री आँधी त्यहाँ आइतबार प्रवेश गरेको थियो।

‘डेर्नामा अहिलेसम्म फेला परेका शवहरूको संख्या एक हजारभन्दा बढी छ,’ हिचेम च्किओउआटले भनेका छन्।

उनी पूर्वी सरकारका उड्डयनमन्त्रीका साथै सरकारको आपत्कालीन प्रतिकार्य समितिका सदस्य पनि हुन्।

उनले ज्यान गुमाउनेहरूको संख्या निकै बढी हुने अनुमान गरिएको बताएका छन्।

‘२५ प्रतिशत सहर बिलायो भन्दा बढाइचढाइ गरेको हुने छैन। थुप्रै भवनहरू भत्किएका छन्,’ उनले भने।

अन्तर्राष्ट्रिय सहायता निकाय आइएफआरसीका अनुसार बाढीका कारण हराउने मानिसको संख्या झन्डै १० हजार छ।

ठूलो वर्षापछि आएका बाढी र पहिरोका कारण सडक र घरहरू भत्किएका छन्।

आइएफसारसीका तामेर रमदानका अनुसार त्यहाँ भएको विनाश ठूलो छ। उनका अनुसार मृतकको संख्या ५० हजार पुग्नसक्छ।

जारी उद्धार र राहत अभियानका क्रममा सात सैनिकहरू बेपत्ता भएका छन्।

पूर्वी क्षेत्रमा रहेका अधिकारीहरूले त्यहाँ कफ्र्यु लगाएका छन् भने विद्यालय तथा पसलहरू पनि बन्द गर्न निर्देशन दिएका छन्।

बाढीका कारण पूर्वका सहरहरू बेन्गाजी, सुसे, डेर्ना र अल–मर्ज सबै प्रभावित भएका छन्।

ज्यान गुमाउनेको संख्या बढ्नुका साथै ठूलो संख्यामा घरहरूमा पनि क्षति पुगेको लिबियाली रेडक्रसले जनाएको छ।

 

Tags: