post-slider post-slider

कोसीको मुख्यमन्त्रीका लागि आज कांग्रेसका थापाले दाबी गर्ने

Image
A A

काठमाडौं- कोसी प्रदेसको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गर्ने भएका छन्।

सरकार गठनका लागि प्रदेस प्रमुख परशुराम खापुङले दिएको समयसीमाअनुसार थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न लागेका हुन्।

उनले माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) र जसपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।

प्रदेस प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

सरकार गठनका लागि दाबी पेस गर्न प्रदेस प्रमुख खापुङले दिएको सयमसीमा आज साँझ ५ बजे सकिँदैछ।

दुई दिनअघि बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले कोसी प्रदेसका मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता थापालाई अघि बढाउने सहमति गरेको थियो।

मुख्यमन्त्रीका लागि माओवादी केन्द्रले दाबी गरे पनि शीर्ष नेताहरूको बैठकमा सरकारको नेतृत्व कांग्रेसलाई सहमति जुटेको थियो।

गठबन्धनले स्थिर र मजबुत सरकारका लािग राप्रपालाई पनि सरकारमा सहभागी गराउने तयारी गरेको थियो।

राप्रपाले मुख्यमन्त्री आफूलाई दिएको सर्तमा सरकारमा सहभागी हुने अडान लिएपछि गठबन्धन ‘ब्याक’ भएको हो।

अब गठबन्धनले सभामुख बाबुराम गौतमलाई पनि जोडेर दाबी पेस गर्ने तयारी गरेको छ।

राप्रपाले समर्थन नगरे मुख्यमन्त्री नियुक्त भए पनि थापाले विश्वासको मत नपाउने अवस्था छ।

९३ सदस्यीय प्रदेससभामा बहुमतका लागि ४७ मत आवश्यक हुन्छ। कोसीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, एकीकृत समाजवादीको ४ र जसपाको १ गरी ४७ मत नै छ।

विश्वासको मत प्रयोजनका लागि हुने मतविभाजन प्रक्रियामा सभामुख भाग लिन पाउँदैनन्। मत बराबरी भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था छ।

मुख्यमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा १६८ (३) बमोजिम प्रदेससभाको ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ।

यो प्रक्रियाअनुसार सरकार गठनका अवस्था सिर्जना भए कोसी प्रदेसमा फेरि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीकै नेतृत्वमा सरकार गठन हुनेछ।

तर, उनले पनि ३० दिनभित्र प्रदेससभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ।

एमाले नेता कार्की नेतृत्वको सरकार विश्वासको मत नपाएपछि यही असार १५ गते ढलेको थियो।

 

Tags: