post-slider post-slider

चिनियाँ विदेशमन्त्री नियुक्त भएको सात महिनापछि नै पदमुक्त

Image
A A

काठमाडौं- चीनले देशका विदेशमन्त्री चिन गाङलाई पदमुक्त गरेको छ।

विदेशमन्त्रीमा नियुक्त भएको सात महिना नबित्दै सरकारले गाङलाई पदमुक्त गरेको हो।

उनको स्थानमा कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

उनी यसअघि पनि विदेशमन्त्री थिए।

५७ वर्षीय गाङ सार्वजनिक जीवनमा एक महिनादेखि देखा परेका थिएनन्। 

यस विषयमा उनको मन्त्रालय पनि मौन रहँदै आएको सन्दर्भमा विभिन्न अनुमानहरू भइरहेका थिए।

गाङलाई पछिल्लोपटक गत जुन २५ मा सार्वजनिक कार्यक्रममा देखिएको थियो।

गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा उनलाई चिनियाँ राष्ट्रपति सि जिनपिङका विश्वासिला सहयोगीको रूपमा हेरिएको थियो।

‘चीनको शीर्ष विधायिकाले वाङ यीलाई विदेशमन्त्रीमा नियुक्त गरेको छ,’ सरकारी समाचारसंस्था सिन्ह्वाले भनेको छ,‘चिन गाङलाई विदेशमन्त्रीको पदबाट हटाइएको छ।’

उनलाई पदबाट हटाउनुको कारण भने खुलाइएको छैन। तर, राष्ट्रपति सि जिनपिङको निर्देशनमा गाङलाई पदमुक्त गरिएको सिन्ह्वाको समाचारमा जनाइएको छ।

चीनको कम्युनिस्ट पार्टीको प्रचलनअनुसार चीनको विदेशनीति उच्च तहका अधिकारीले निर्माण गर्छन् र विदेशमन्त्रीलाई त्यसको कार्यान्वयन गर्न निर्देशन दिइन्छ।

 

Tags: