post-slider post-slider

प्रहरी जवानलाई आफ्नै कार्यालयमा यातना : को हुन् दोषी?

Image
A A

काठमाडौं- प्रहरी कार्यालयभित्र एक जना प्रहरी जवानलाई पाता कसेर यातना दिइएको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो।

यो भिडियो थियो–जिल्ला प्रहरी कार्यालय सिरहाको। र, यातना दिइएका प्रहरी जवान थिए, अनु राय।

रायलाई पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो।

घटना गत सोमबार साँझको हो। तोकिएको भन्दा बढी ड्युटी गराएको गुनासो जवान रायले गरेका थिए। 

यस्तो गुनासो गरेकै कारण प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ।

प्रहरी निरीक्षक राईले पाता कसेर १२ घन्टासम्म यातना दिएको पीडित प्रहरी जवानका भाइ रजनिस रायले बताएका छन्।

रजनिसका अनुसार बढी ड्युटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक राईले जवान अनुलाई पातामात्रै कसेनन् बुटले समेत हिर्काए।

‘बढी ड्युटी गराएको विषयमा दाइ इन्सपेक्टर राईसमक्ष गुनासो गर्न जानुभएको थियो। उल्टै झपारेपछि भनाभन भयो। इन्स्पेक्टर राईले दाजुलाई तापा कसे। भिडियो प्रमाण पनि छ। बुटैबुटले हिर्काएर १२ घन्टासम्म चरम यातना दिए,’ रजनिस भन्छन्।

प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरभित्रै प्रहरी जवान अनुलाई पाता कसेर राखेको भिडियोमा देखिन्छ। उनी रोइरहेका छन्। अन्य प्रहरी अधिकारीले उनलाई गालीगलौज तथा मादक पदार्थ कहाँ सेवन गरेको भनेर सोधिरहेका छन्।

जिल्ला प्रहरी सिरहका प्रहरी प्रमुख टेकुनन्द ईवा लिम्बु भने जवान अनुलाई कुनै यातना नदिइएको दाबी गरेका छन्।

अनुले मादक पदार्थ सेवन गरेको पाइएपछि सम्झाइबुझाइमात्रै गरिएको उनको भनाइ छ।

अनुले जाँडरक्सी खाएर जिल्ला अदालतअगाडि स्थानीयवासीलाई कुटपिट तथा दुव्र्यवहार गर्न थालेपछि समातेर सम्झाइबुझाइ गरिएको लिम्बुले बताए।

प्रहरी उपरीक्षक लिम्बुले मदाक पदार्थ सेवन गरेको दाबी गरे पनि तत्कालै प्रादेशिक अस्पताल सिरहामा गरिएको मेडिकल टेस्टमा भने त्यस्तो केही नपाइएको अनुका भाइ राजनीसको दाबी छ।

रजनीस एसपी, डिएसपी, इन्सपेक्टर सबै मिलेर यस्तो घटना घटाएको र ढाकछोप गर्न मादक पदार्थ सेवन गरेको भनेर निहुँ बनाइरहेको बताउँछन्।

एक जना पूर्वप्रहरी अधिकारी प्रहरीका कुनै कर्मचारीले गल्ती गर्दैमा यसरी यातना दिन नमिल्ने बताउँछन्।

पूर्वएसएसपी आभुषण तिमिल्सिना कुनै प्रहरी कर्मचारीले गल्ती गरेको खण्डमा कारबाही गर्न प्रहरी ऐन र नियमावलीमा स्पष्ट व्यवस्था रहेको बताउँछन्। 

मतभेद देखाउँदैमा प्रहरी कर्मचारीलाई प्रताडित गर्न नपाइने उनको भनाइ छ।

‘कुनै प्रहरी कर्मचारीले गल्ती गर्न सक्छ, गल्ती ग¥यो भने उसलाई कारबाही गर्न प्रहरी ऐन र प्रहरी नियमावलीमा स्पष्ट व्यवस्था गरिएको छ। कुनै पनि बहालवाला प्रहरी कर्मचारीले गरेको कामको गम्भीरताको आधारमा प्रहरी विशेष अदालत गठन गरेर गरिने कार्यबाहीबाहे प्रहरी नियमावलीले नै पनि बर्खास्तसम् मगर्न पाउने व्यवस्था कानुनले नै गरेको छ,’ तिमिल्सिना भन्छन्,‘तर, मतभेद देखाएकै कारणले यसरी अमानवीय तबरले प्रताडित गर्न पाइँदैन।’

 प्रहरी नियमावलीले शारीरिक थकान हुने सजाय नदिने व्यवस्था गरेको बताउँदै उनले तलका जवानहरूलाई शारीरिक थकान हुने सजाय नै गर्ने हो भने बाँधेर कुटपिट गर्न नपाइने उल्लेख गरेका छन्।

‘तलका जवानहरूलाई शारीरिक थकान हुने सजाय नै गर्ने हो भने पनि बाँधेर कुटपिट गर्न पाइँदैन। उसलाई १० किलोमिटर कुद भन्न सकिन्छ। तर, यातना दिन मिल्दैन,’ उनले भने।

प्रहरी संगठनमै बसेर त्यही संगठनमा कार्यरत महिला प्रहरीलाई गुड फ्राइडे मनाउने आदेश दिने अधिकृतलाई बाँधेर कारबाही किन गरिएन तिमिल्सिनाको प्रश्न छ।

पूर्वएससपी तिमिल्सिना प्रहरी निरीक्षकलाई मात्रै दोषी देखाएर यो घटनालाई सामसुम पार्न नहुने बताउँछन्।

‘यो घटनाको बास्तविकता छानबिन हुनुपर्छ। केवल दोषी भनिएका प्रहरी निरीक्षकलाई मात्रै दोषी बनाएर घटना सामसुम पारिनु हुँदैन। किनकि कार्यालय प्रमुखको अनुमतिविना कार्यालयमा यस्तो घटना हुनै सक्दैन,’ उनी भन्छन्।

प्रहरी जवानलाई यातना दिइएको घटनाबारे छानबिन गर्न मधेस प्रदेस प्रहरी कार्यालयले छानबिन सुरू गरेको छ।

डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेर घटनाको छानबिन सुरू भएको प्रदेस प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन्।

छानबिन समितिलाई सक्दो चाँडो प्रतिवेदन बुझाउन निर्देशन दिइएको उनले बताए।

 

Tags: