.png)

१४ किलो सुनको छानबिन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौं- भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।
विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर १४ किलो सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन भएको जानकारी दिएको हो।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए।
पौडेल नेतृत्वको समितिमा प्रहरी नायब उपरक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेका छन्।
पाण्डेले गएराति भन्सार विभागको टोलीले सुनसहित पक्राउ गरेको गोरखाका चन्द्र घलेलाई प्रहरी हिरासतमा राखिएको बताए।
फ्लाइ दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११ ः ४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारको टोलीले सुनसहित नियन्त्रणमा लिएको थियो।
उनको साथबाट ज्याकेटभित्र लुकाएर राखेको अवस्थामा १४ किलो सुन बरामद भएको थियो।
पाण्डेले घलेका साथै यो कार्यमा संलग्न गोरखाकै मीनबहादुर घलेलाई समेत पक्राउ गरिएको बताए।
विशेष सुराकीको आधारमा बाहिरबाट सामान आउँदैछ भन्ने आधारमा केही दिनदेखि अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुहरू निगरानीमा रहेको उनले जानकारी दिए।