post-slider post-slider

शीर्ष नेताहरूको बैठक : लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउने प्रतिबद्धता

Image
A A

काठमाडौं- मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर संघर्ष गरेका राजनीतिक दलका शीर्ष नेतृत्वले संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थालाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा शीर्ष नेतृत्वले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

१२ बुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलका नेताबीच गणतन्त्रलाई सुदृढीकरण गर्दै अगाडि बढ्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

शीर्ष नेताले दलहरूबीच आपसी मतभेद भए पनि एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको उनले बताए।

दलका नेताहरूले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि भइरहेका आक्रमणको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई सबल बनाउन आगामी दिनमा बहुपक्षीय र द्विपक्षीय छलफल गर्दै अगाडि बढ्ने सहमतिसमेत भएको छ।

नेताहरूले पछिल्ला समय सामाजिक सञ्जालबाट संविधान, लोकतन्त्र, राजनीतिक प्रणाली, नेतृत्वकाविरूद्ध भइरहेका दुष्प्रचारबारे सरकारको ध्यानाकर्षणसमेत गराएका थिए।

सामाजिक सञ्जालमा देखिएका अश्लिलता, उच्छृंखलता उपयुक्त नभएको निष्कर्ष नेताहरूले निकालेका छन्।

बैठकपछि अर्थमन्त्री प्रकाशशरण महतले ‘निर्वाधरूपमा नागरिकले आफ्नो काम गर्न पाउनुपर्छ। त्यसलाई दुरूपयोग गर्ने, उच्छृंखल आधारहीन कुरा, प्रमाणहीन कुरा, गाली बेइजत, अश्लिलताका कुरा उपयुक्त होइनन् भन्ने कुरा उठे। तर, अहिले के गर्ने भन्ने कुरा नआएको’ बताए।

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको बताउँदै उनले अहिलेको व्यवस्थाका कारण नै व्यवस्थाको विरोध गर्नेहरूले छुट पाइरहेको बताए।

प्रधानमन्त्री प्रचण्डले कानुनअनुसार सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमत गरेर मर्यादित समाज निर्माण गर्न लागिपरेको बताएका थिए।

बैठकमा नेताहरूले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई प्रभावकारी ढंगबाट राहत र उद्धारका काम अगाडि बढाउन सुरकारलाई सुझाव दिएका छन्।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका शीर्ष नेताको उपस्थिति थियो।

 

Tags: