post-slider post-slider

कोसीमा ढल्यो एमाले नेतृत्वको सरकार

Image
A A

काठमाडौं- कोसी प्रदेसमा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ।

मुख्यमन्त्री कार्कीले प्रदेससभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो।

२०७९ मंसिरमा भएको चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए।

उनी संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको ६ महिनापछि कार्की सरकारबाट बाहिरिनुपरेको हो।

एक महिनाअघि सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

उनले बिहीबार प्रदेससभा बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव राखेका थिए। तर, बैठक स्थगित भएपछि शुक्रबार मतविभाजन भएको हो।

शुक्रबार भएको मतदानमा कार्कीले ९३ सदस्यीय प्रदेससभामा बहुमतका लागि आवश्यक ४७ मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो।

प्रदेससभामा शुक्रबार उपस्थित कुल ८९ सांसदमध्ये विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो।

मुख्यमन्त्री कार्कीले पाएको ४६ मतमध्ये ४० नेकपा एमाले र ६ राप्रपाको हो।

जसपाकी सांसद निर्मला लिम्बुका साथै प्रतिपक्षी दलका थप दुई गरी तीन जना अनुपस्थित रहेका थिए।

विश्वासको मत लिने प्रस्तावमाथि प्रदेससभामा बिहीबार सत्तापक्ष र विपक्षी दलका सांसदहरूले छलफलमा भाग लिएका थिए।

मुख्यमन्त्री कार्कीकै आग्रहमा पटक–पटक बैठक सारिएको थियो। मुख्यमन्त्री र मन्त्रीहरू नफर्किएपछि बैठक स्थगित गरेर शुक्रबार बोलाइएको थियो।

कार्की नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार कसेको नेतृत्वमा बन्ने भन्नेमा दलहरूभित्रको आन्तरिक प्रतिस्पर्धाले अन्योल छ।

गठबन्धन दलमध्ये २९ सांसद रहेको कांग्रेस र सभामुखसहित १३ सांसद रहेको माओवादी दुवैले आगामी सरकारको नेतृत्वका लागि दाबी गरिरहेको छ।

कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले नयाँ सरकारको नेतृत्व कसले गर्ने विषय टुंगिन बाँकी रहेको बताएका छन्।

आलोपालो गरी सरकारको नेतृत्व गर्ने भन्ने कुरा भए पनि पहिले नेतृत्व कसले गर्नेबारे टुंगिन बाँकी रहेको उनको भनाइ छ।

 

Tags: