post-slider post-slider

‘देश बनाउने जिम्मा हामी सबैको हो’

Image
A A

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताएका छन्।

उनले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रूपमा खाँचो औल्याउँदै यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्ने बताएका हुन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रबुद्ध व्यक्तित्वहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

देश बनाउन सबभन्दा बेस्ट ब्रेनहरू केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखिकै सोँच रहेको बताउँदै उनले अहिले विश्वविद्यालयलाई राजनीतिक भागबन्डा बनाउनु हुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न लागिएको उल्लेख गरे।

प्रचण्डले विश्वविद्यालय सुधारका लागि भएको आफ्नो यो प्रयासमा बैद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरे।

सम्मुनत नेपालका लागि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा आफू अनवरत काम गरिरहेको बताउँदै उनले आम जनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

छलफलमा डा.केदारभक्त माथेमा, डा.पिताम्बर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चेतन्य मिश्र, प्राध्यापक कृष्ण खनाललगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

Tags: