post-slider post-slider

प्रधानमन्त्रीको चीन भ्रमण : प्रचण्डले संसदलाई भने अनुसारकै सहमति भएको हो?

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा सोमबार दुई देशबीच झन्डै एक दर्जन विषयमा सहमति तथा समझदारी भएका छन्।

सोमबार बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रचण्डको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि ती सहमति र समझदारीहरू भएका हुन्।

भ्रमणअघि प्रधानमन्त्री प्रचण्डले संसदमा बोल्दै चीनसँग ‘ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सहमति हुने विश्वास गरेको’ बताएका थिए।

तर, सोमबार भएका समझदारी र सम्झौतामा त्यसले स्थान पाएको देखिँदैन।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले भने,‘दुई देशको संयुक्त विज्ञप्मिा सहमतिका विषयमा थप स्पष्टता आउँछ। त्यसमा बिआरआई र ऊर्जालगायतका विषय पनि समेटिन्छन् भन्ने हामीले ठानेका छौं।’

बेइजिङमा कृषि, व्यापार, पूर्वाधार, विज्ञान तथा प्रविधि, डिजिटल अर्थतन्त्रदेखि केही संस्थागत सुधारमा सहकार्य गर्ने विषयमा दुई पक्षबीच सहमति भएको हो।

सन् १९८१ मा भएको चीन–नेपाल व्यापार तथा भुक्तानी सम्झौताको पुनरावलोकन र परिमार्जन गर्नका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्नका लागि समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ।

प्रधानमन्त्री प्रचण्डले प्रचण्डले एसियाली खेलकुदको उदघाटका दिन शनिबार हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए।

उनले सोमबार नै चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी कमिटी अध्यक्ष झाओ लेजीसँगसमेत भेटवार्ता गरेका थिए।

यस्ता छन् दुई पक्षबीच भएका सहमतिहरू :
–    चीनको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिशन र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि       समझदारीपत्र

–    नेपालको उत्तर पहाडी क्षेत्रका उत्पादन तथा जैविक पदार्थहरूको प्रमाणीकरण

–    डिजिटल अर्थतन्त्रमा सहकार्यका लागि चीनको नेसनल डेभलपमेन्ट एन्ड रिभर्म कमिशन र नेपालको अर्थ मन्त्रालयबीच समझदारी

–    हरित तथा न्यून कार्बन उत्सर्जन हुने विकाससँग सम्बन्धित कार्यमा सहकार्यका लागि चीनको नेसनल डेभलपमेन्ट एन्ड रिभर्म कमिशन र नेपालको वन तथा वातावरण मन्त्रालयबीच समझदारी

–    कृषि, पशुपालन तथा मत्स्यपालनसम्बन्धी सहकार्यका लागि चीनको कृषि तथा ग्रामीण मामिलासम्बन्धी मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच समझदारी

–    सन् १९८१ मा भएको नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौताको पुनरावलोकन र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्न चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी

–    नेपालबाट चीन पठाउन वनपस्तिमा आधारित ओखतीमूलक पदार्थको आपूर्तिसम्बन्धी मापदण्ड र नियम बनाउन चीनको भन्सार प्रशासन र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच सम्झौता

–    चीनको नेसनल एड्मिनिस्ट्रेसन अफ प्रेस एनड पब्लिकेसन र नेपाल सरकारबीच शास्त्रीय साहित्यको अनुवाद तथा प्रकाशनसम्बन्धी समझदारी

–    विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सम्झौता

–    विपद् सामग्रीसम्बन्धी समझदारीपत्र आदानप्रदान

–    जनशक्तिसम्बन्धी समझदारीपत्र आदानप्रदान

–    हिल्सा–सिमकोट सडक परियोजना विस्तार गर्न समझदारीपत्र आदानप्रदान

 

Tags: