.png)

नेपालको अपराधकर्ममा चिनियाँहरूको रजगज

काठमाडौं- बहुचर्चित सुन प्रकरणमा बिहीबार राति थप दुई चिनियाँ नागरिक पक्राउ परे। यो सँगै सुन प्रकरणमा पक्राउ पर्ने चिनियाँ नागरिकको संख्या सात पुगेको छ।
जाँच पास भएर त्रिभुवन विमानस्थलबाट निस्किएको सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेको छ।
सुन प्रकरणको अनुसन्धान भइरहेकाले पक्राउ परेका चिनियाँ नागरिकहरूको संलग्नताको प्रकृतिबारे सिआइबीले प्रष्ट पारेको छैन।
नेपालमा पछिल्ला वर्षहरूमा अपराधकर्ममा संलग्न विदेशीहरूमा चिनियाँ नागरिकहरू अगाडि देखिएको प्रहरीको भनाइ छ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायत तीन वर्षयता भारतीयबाहेक अपराधमा संलग्न विदेशीमा चिनियाँ अगाडि देखिएको बताउँछन्।
कारागार व्यवस्थापन विभागका अनुसार देशभरिका कारागारहरूमा अहिले करिब १ हजार ४ सय कैदी र बन्दीहरू छन्। देशभरका ७२ जिल्लास्थित ७४ कारागारमा सबैभन्दा बढी भारतीय छन्।
त्यस्तै विभिन्न जेलमा ४० जना चिनियाँ नागरिक रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।
तीमध्ये सबैभन्दा धेरै काठमाडौंको सुनधारास्थित केन्द्रीय कारागारमा छन्। सुनधारा कारागारमा एक महिलासहित २८ जना चिनियाँ नागरिक छन्। तीमध्ये १० जना कैदी र अन्य थुनुवा छन्।
काठमाडौंको डिल्लीबजार कारागारमा चार जना चिनियाँ नागरिक छन्। उनीहरू चोरी, जबरजस्ती करणी, वैवाहिक बलात्कार र वन्यजन्तुको छाला ओसार पसारलगायतका मुद्दामा थुनामा पठाइएका हुन्।
पछिल्ला दिनहरूमा सानो–ठूलो परिमाणमा बरामद हुने गरेका सुनसँगै चिनियाँ नागरिकहरू पनि पक्राउ पर्ने गरेका छन्।
सिआइबीले आर्थिक वर्ष २०७९ / ८० मा तीन चिनियाँ नागरिकविरूद्ध मुद्दा चालाएको थियो। अवैध रूपमा कल वाइपास गरेको कसुरमा उनीहरूविरूद्ध मुद्दा चलाइएको हो।
अनुसन्धानका क्रममा दुई जना चिनियाँ अहिले राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन्। स्रोत नखुलेको रकमसहित उनीहरू पक्राउ परेका थिए।
चिनियाँहरू प्रवेशज्ञा म्याद गुजारेर बसेका, एटिएम ह्याकिङ जस्ता मुद्दाहरू पनि खेपिरहेका छन्।
बैंकको एटिएम कार्डबाट रकम चारीको अभियोमा २०७६ भदौमा चिनियाँहरू काठमाडौंबाट समातिएका थिए।
चीनको आग्रह र सूचनाका आधारमा त्यो कारबाही गरिएको बताइएको छ।
उनीहरू पक्राउ परेको भोलिपल्टै चीनको विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता गेङ्ग सुवाङ्ले प्रस्टरूपमा चीन र नेपाल प्रहरीले संयुक्तरूपमा त्यो कारबाही गरेको बताएका थिए।
पछि उनीहरूलाई लिन चीनले विमान नै काठमाडौं पठाएको थियो।
त्यसको एक वर्षपछि २०७७ पुस तेस्रो साता दुई चिनियाँ नागरिकलाई अपहरण गरेको अभियोगमा पक्राउ पर्ने चार जनामध्ये दुई जना चिनियाँ नै थिए।
काठमाडौंको बानेश्वरमा २०७८ साल फागुनमा चिनियाँ लक्षित कारबाही गरिएको थियो। तर, त्यसमा पक्राउ पर्नेमा अधिकांश नेपाली थिए।
गत वर्ष साउन महिनामा कल सेन्टरमा छापा मार्दा चिनियाँहरू नै हर्ताकर्ता थिए।
अनुसन्धान अधिकारीहरूका अनुसार चिनियाँहरूले पछिल्ला वर्षहरूमा नेपालीको नाममा कम्पनी दर्ता गरेर नेपालीलाई पनि प्रयोग गरेर गैरकानुनी काम गर्दा त्यस्ता नेपालीहरू धेरै तानिन थालेका हुन्।
जानकारहरूका अनुसार नेपालमा मात्र नभइ फिलिपिन्स, लाओस, क्याम्बोडिया र म्यानमारलगायतका देशहरूमा बसेर चीनमा ठग्ने काममा चिनियाँहरू नै संलग्न देखिएका छन्।
सुन तस्करीको सन्दर्भमा नेपाल र भारतमा त्यसको माग÷खपत र वैधानिक आपूर्तिबीच रहेको ठूलो खाडलसँग जोडिएको बताइन्छ। त्यो अभाव पूर्तिका निम्ति सुनको अवैध आयात चीनबाट हुने गरेको जानकारहरूको बुझाइ छ। चिनियाँहरू मानव तस्करीमासमेत संलग्न भएको प्रहरीका कतिपय पूर्वअधिकारीहरूको भनाइ छ।
नेपालीलाइ कामको लोभ देखाएर विदेश लगेर बन्धक बनाउने काममा मुख्य रूपले चिनियाँहरू संलग्न रहेको उनीहरू बताउँछन्।
अपराध, त्यसको प्रकृति र शैलीमा आउन थालेको परिवर्तनमा दुई देशबीचको प्रहरीबीच समन्वय महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।