post-slider post-slider

मधेस कृषि विश्वविद्यालय शिलान्यास विवाद : उपेन्द्र–सिके फेरि आमने–सामने

Image
A A

काठमाडौं - मधेसलाई केन्द्र बनाएर राजनीति अगाडि बढाइरहेको जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी फेरि एकपटक आमने–सामने देखिएका छन्। 

केन्द्र र मधेस प्रदेसमा सत्ता साझेदार दल दुवै दल पछिल्लोपटक सप्तरीको राजविराजमा सोमबार हुन लागेको कृषि विश्वविद्यालय भवनको शिलान्यासलाई आमने–सामने उभिएका हुन्।

विश्वविद्यालयको कार्यालयले भवन शिलान्यासका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको छ। 

यादवलाई शिलान्यास कार्यक्रमको प्रमुख अतिथि बनाइएपछि जनमत पार्टी विरोधमा उत्रिएको हो।

जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाउन नहुने भन्दै जनमतका कार्यकर्ताहरूले आइतबार उपकुलपतिलाई ज्ञापनपत्र बुझाएका छन्।

उनीहरूले उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको मुख्य गेटमा तालाबन्दीसमेत गरेका छन्।

यता जसपाका कार्यकर्ताहरू अध्यक्ष यादवबाटै भवनको शिलान्यास गराउने अडान लिएका छन्।

विश्वविद्यालय भवनको शिलान्यासलाई लिएर जसपा र जनमत पार्टीबीच ‘टकराव’ को अवस्था देखिएपछि राजविराजमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

विधान र कानुनविपरित शिलान्यास कार्यक्रम राखिएपछि आफूहरूले विरोध गरेको जनमत पार्टीले बताएको छ।

‘शिलान्यास गर्न हामीले रोकेका छैनौं, तर कानुनअनुसार हुनुप¥यो। शिलान्यास विश्वविद्यालयको ऐनअनुसार हुनेछ, प्रदेसका शिक्षामन्त्रीले गर्नेछ। नभए सिनेटले निर्णय गरे कुनै सहिद परिवारले गर्नेछ। त्यो विश्वविद्यालयसभाको कुरा हो,’ जनमत पार्टीका अध्यक्ष सिके राउतले भने।

शिलान्यासको नाममा जसपा अध्यक्ष यादव राजविराजमा दंगा र अशान्ति फैलाउन आउन लागेको उनको भनाइ छ।

मधेस प्रदेसका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवले कृषि विश्वविद्यालयको शिलान्यास भइरहेको विषयमा आफूलाई जानकारीसमेत नरहेको बताएका छन्।

कृषि विश्वविद्यालयको सहकुलपति तथा विश्वविद्यालय सभा (सिनेट) को अध्यक्ष भएर पनि शिलान्यास कार्यक्रमबारे जानकारी नपाउनु दुर्भाग्य भएको भन्दै उनले कार्यक्रम स्थगित गर्न विश्वविद्यालयको प्रशासनिक विभागलाई निर्देशन दिएको उल्लेख गरेका छन्।

‘सहकुलपति तथा सिनेटको अध्यक्ष म आफैं हुँदा विश्वविद्यालयमा हुने कार्यक्रमको विषयमा केही जानकारी नपाउनु दुर्भाग्य हो। सिनेटको अध्यक्षको सहमति बेगर कार्यक्रम गर्नु विवाद निमत्याउनु हो,’ मन्त्री यादवले विज्ञप्ति निकालेर भनेका छन्,‘कार्यक्रम गरेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयका भिसी, रजिष्ट्रार हुने जानकारीसमेत गराउन चाहन्छु।’

मधेस कृषि विश्वविद्यालयका लागि राजविराज नगरपालिका–१३ मा १२ बिघा जग्गा छुट्याइएको छ। यो जनमतका अध्यक्ष राउतको निर्वाचन क्षेत्र हो।

यही क्षेत्रबाट गत वर्ष मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राउतले जसपा अध्यक्ष यादवलाई पराजित गरेका थिए।

पछि बारा–२ मा भएको उपनिर्वाचनबाट यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुरका अनुसार जसपा अध्यक्ष यादव, मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृतिमन्त्रीले संयुक्त रूपमा भवन शिलान्यास गर्ने गरी कार्यक्रम तय भएको छ।

शिलान्यासका लागि जसापका नेता, कार्यकर्ता, मधेसका मुख्यमन्त्रीसहित जसपाका मन्त्रीहरू राजविराज पुगिसकेका छन्।

जनमत पार्टीको विरोधकाबीच हुन लागेको शिलान्यास कार्यक्रममा तनाव हुनसक्ने सम्भावनालाई देख्दै राजविराजमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रहरी प्रशासनको बलमा जबजरस्ती विश्वविद्यालय भवनको शिलान्यास गर्न लागिएकोप्रति पनि जनमत पार्टीले आपत्ति जनाएको छ।

‘राष्ट्रियसभाको मुखमा निर्वाचन अचारसंहिताविपरित, मधेस सरकारको शिक्षा मन्त्रालयको आधिकारिक निर्णयविपरित, सिनेट र वैधानिक प्रक्रियाविपरित, शान्ति सुरक्षाविपरित, जनताले चलाइराखेको आन्दोलनविपरित यो गैरवैधानिक कार्यक्रम स्थगन गर्नुको साटो प्रहरी प्रशासनले जबजरस्ती सेना र प्रहरी लगाएर जसपा अध्यक्षद्वारा नै शिलान्यास गराउने षडयन्त्र रच्नु, सप्तरीका जनतामाथि दमन गर्नु, सप्तरीको शान्ति सुरक्षा भंग गर्नु षडयन्त्रपूर्ण रहेको आभाष हुन्छ। सप्तरीमा दंगा फैलाउनका लागि नै यो सब भइरहेको स्पष्ट भइराखेको छ,’ राउतको सचिवालयले भनेको छ।

 

Tags: