post-slider post-slider

सरकारलाई माओवादीको सुझाव– चाडबाडमा जनतालाई राहत दिनुपर्छ

Image
A A

काठमाडौं- नेकपा माओवादी केन्द्रले चाडपर्वको बेला बढेको महँगीमा उपभोक्तालाई राहत र सुविधा दिन सरकारसँग आग्रह गरेको छ। 

बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय समितिको आइतबार बसेको संयुक्त बैठकले महँगीको मारमा परेका जनतालाई राहत तथा सुविधा दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

नेपाल आयल निगमले खाना पकाउने ग्यास, डिजेल, मट्टीतेल र पेट्रोलमा गएरातिदेखि लागू हुने गरी अत्यधिक मूल्य वृद्धि गरेपछि सरकारको आलोचना भइरहेको बेला बागमती प्रदेश कमिटीका इन्चार्ज जनार्दन शर्माले तीन वटा कमिटीको संयुक्त बैठक आह्वान गरेका थिए। 

बबरमहलस्थित बागमती प्रदेश कमिटीको कार्यालयमा बसेको बैठकमा सहभागीहरूले पेट्रोलियम पदार्थको बेला भएको मूल्यवृद्धिको फिर्ता लिन पहल गर्नुपर्ने धारणा राखेका थिए। आजै बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिने निर्णय गरेको छ।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता शर्माले महँगीमा राहत दिनुका साथै हवाई र सडक यातायातको टिकटमा सहजीकरणको लागि पनि सरकारको आग्रह गर्ने निर्णय पार्टीका तीन कमिटीको संयुक्त बैठकले गरेको छ।

दसैं तिहारका लागि लामो दुरीको यात्रा गर्ने यात्रु तथा सवारी चालकहरुको सुविधाका लागि सडकका खाल्डाखुल्डी पुरेर सहज रुपमा गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन पनि माओवादीले सरकारलाई आग्रह गरेको छ।

चाडबाडको बेला पार्टी प्यालेसमा हुने भोज र यात्राको क्रममा यात्रुहरुले सडक किनारका होटल तथा रेष्टुरेन्टमा खाने खानाको गुणस्तर जाँचेर स्वच्छ खाना खान पाउने व्यवस्था मिलाउन पनि आग्रह गर्ने निर्णय बैठकले गरेको छ।

Tags: