post-slider post-slider

नेपालसँग बहराइन सात विकेटले पराजित

Image
A A

काठमाडौं- नेपालले एसीसी यू-१९ प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो। 

यससँगै नेपालको सेमिफाइनल सम्भावना मजबुत बनेको छ। मलेसियाको बायुमास ओभलमा बहराइनले जितका लागि दिएको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। 

नेपालको सुरुवाती राम्रो नरहे पनि कप्तान देव खनाल र अर्जुन कुमालले उत्कृष्ट साझेदारी गरेका थिए। अर्जुन र देवले समान ३२/३२ रन जोडे।  पहिलो ओभरमै नेपालले २ विकेट गुमाएको थियो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७।५ ओभरमा ७७ रन बनाउँदै अलआउट भएको थियो। नेपाली बलर दिपेश कँडेल र दुर्गेश गुप्ताको किफायती बलिङमा बहराइनका कुनै खेलाडी क्रिजमा टिक्न सकेनन्। 

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए। त्यसपछि बहराइनका कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन्। अभिनव गिरिश बिस्टले ६९ बल खेल्दै ९ रन बनाए। बहराइनका पाँच खेलाडीले खातासमेत खोल्न सकेनन्।

नेपालका स्पिनर दिपेशले कीर्तिमानी बलिङ गर्दै ९।५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए। यस्तै, तीव्र गतिका बलर दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए। 

समूह ए मा रहेको नेपालले पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको थियो। नेपालले अन्तिम खेल कार्तिक २ मा साउदी अरेवियासँग खेल्नेछ। नेपाल ४ अंकका साथ शीर्ष स्थानमा छ।

Tags: