post-slider post-slider

भारतीय टोलीका आइपिएल खेलाडीसँग भिड्दै नेपाल

Image
A A

काठमाडौं- श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ।

भारतले प्रतिस्पर्धाका लागि युवा खेलाडीहरूको टोली बनाएको छ, जसमा भारतको चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) मा खेल्ने खेलाडीहरूको बाहुल्य रहेको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिआइसिसी) ले सिनियर टोलीबाहेक चीनमा दुई महिनापछि आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि छुट्टै टोली र इमर्जिङ टिमका लागि छुट्टै टोली बनाएको हो।

भारत ‘ए’ ले पहिलो खेलमा युएई ‘ए’ लाई आठ विकेटले पराजित गरिसकेको छ। नेपाल भने पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भयो।

भारतीय टोलीमा गत वर्ष भारतलाई अन्डर–१९ विश्वकपको उपाधि जिताउन भूमिका खेलेका खेलाडीहरू धेरै छन्।

भारतीय टोलमिा रहेका सबैभन्दा ठूलो नाम साइ सुदर्शन हो।

हालै आइपिएल २०२३ को फाइनलमा गुजरात टाइटन्सका खेलाडी सुदर्शनले चेन्नई सुपर किंग्सविरूद्धको फाइनलमा ९६ रनको उत्कृष्ट पारी खेलेका थिए।

चेन्नईमा जन्मिएका २१ वर्षीय बाँया हाते ब्याटरले आइपिएलमा कुल ३६२ रन जोडेर प्रभावशाली प्रदर्शन गरेका थिए।

भारतीय टोलीमा आइपिएल च्याम्पियन चेन्नई सुपर किंग्सका तीन जना खेलाडी समावेश छन्।

उनीहरू आकाश सिंह, निशान्त सिन्धु र राजभार्धन हंगार्गेकर हुन्।

आकाश सिंह बायाँ हाते स्पिनर हुन्। नागाल्यान्डका यी २१ वर्षीय युवा खेलाडीले गत वर्ष भारतलाई अन्डर–१९ विश्वकप जिताउन भूमिका खेलेका थिए।

यद्यपि उनी चेन्नईमा वैकल्पिक खेलाडीका रूपमा मात्रै रहे।

निशान्त सिन्धु बायाँ हाते अलराउन्डर हुन्। अन्डर–१९ भारतीय टोलीका सदस्य उनले पनि अझैसम्म आइपिएलमा एक खेल पनि खेल्न पाएका छैनन्।

दायाँ हाते तीब्र गतिका बलर राजभार्धन हंगार्गेकरले जारी सिजनमा आइपिएलमा दुई खेल खेल्ने अवसर पाएका थिए। जसमा उनले तीन विकेट लिए।

भारतीय टोलीका कप्तान हुन् यश विजय ढुल। उनकै कप्तानीमा भारतले अन्डर–१९ विश्वकप जितेको थियो।

दिल्ली क्यापिटल्सका यी खेलाडीले आइपिएलमा चार खेल खेल्ने मौका पाएका छन्।

२० वर्षीय प्रारम्भिक ब्याटर यशले जारी प्रतियोगिताको पहिलो खेलमै आफ्नो ब्याटिङ क्षमता प्रस्तुत गरिसकेका छन्।

युएई ‘ए’ विरूद्धको पहिलो खेलमा उनले अविजित १०८ रन बनाएका थिए।

टोलीका उपकप्तानको जिम्मेवारी अभिषेक शर्माले पाएका छन्। सनराइजर्स हैदराबादबाट खेलने शर्मा तल्लो क्रमका ब्याटर हुन्।

त्यस्तै उनी बायाँ हाते तेज गतिका बलर तथा बायाँ हाते स्पिनर हुन्।

विकेट किपर ब्याटर प्रबसिमरन सिंह आइपिएलका अनुभवी खेलाडीमध्ये एकमा पर्छन्।

किंग्स  इलेभन पञ्जाबका २१ वर्षीय सिंहले आइपिएलमा २० खेल खेलेर ४२२ रन बनाइसकेका छन्।

त्यसक्रममा उनले एक शतक र एक अर्ध शतक प्रहार गरेका छन्।

भारतलाई अन्डर–१९ विश्वकप जिताउँदाका सदस्य उनी सन् २०१८ मा दिल्ली क्यापिटल्समा आवद्ध भएका थिए।

त्यसैगरी आइपिएलका अर्का खेलाडी हर्षित राना कोलकत्ता नाइट राइडर्ससँग आवद्ध छन्।

दायाँ हाते तीब्र गतिका २२ वर्षका उनी बलिङ अल राउन्डरको भूमिकामा छन्। गत वर्ष आइपिएलबाट उनले ६ खेल खेलेका थिए।

ओपनर ब्याटर रियान पराग भने राजस्थान रोयल्सका खेलाडी हुन्। भारतलाई अन्डर–१९ च्याम्पियन बनाउने क्रममा उनले फाइनलमा अर्धशतक प्रहार गरेका थिए।

त्यसैगरी २१ वर्ष विकेट किपर ब्याटर धु्रव जुरेल राजस्थान रोयल्सबाट खेल्छन् भने नितिशकुमार रेड्डी सनराइज हैदराबादका दायाँ हाते ब्याटर हुन्।

नेपालले सिनियर टोली पठाए पनि त्यसमा टोलीका मुख्य खेलाडीहरू छैनन्।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी क्यानाडामा व्यवसायिक लिग खेल्न गएका छन्।

त्यस्तै ज्ञानेन्द्र मल्ल, आरिफ शेख र करण केसी पनि टोलीमा छैनन्।

उनीहरूको स्थानमा देव खनाल, पवन सर्राफ, किशोर महतो, सन्दीप जोरा, श्याम ढकाल र सुर्य तामाङलाई मौका दिइएको छ।

 

Tags: