कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्र आक्रोशित
काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउले निजी क्षेत्रको मनोबल घटाएको निजी क्षेत्रका तीन वटा संस्थाले जनाएका छन्।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने बताएका हुन्।
उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्ने उल्लेख गर्दै थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने ती संस्थाले जनाएका छन्।
आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न तीन वटै संगठनले सरकारलाई आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, 'मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन। अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकूल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरूलाई आग्रह पनि गरिएको छ। यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुँदैन।'
कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरूलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न नसक्ने संयुक्त विज्ञप्तिमा जनाइएको छ।
देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता रहेकाले यसबेला उद्योगी व्यवसायी एवम् लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्ने निजी क्षेत्रको माग छ।