post-slider post-slider

सहिद दिवसमा सरकारले दिएन बिदा, अर्को वर्ष भने बिदा

Image
A A

काठमाडौं- सरकारले सहिद दिवसको दिन बिदा नदिने भएको छ।

हरेक माघ १६ गते मनाइने सहिद दिवसमा सरकारले बिदा नदिने भएको हो।

यद्यपि अर्को वर्ष २०८१ को सहिद दिवसमा भने बिदा दिने निर्णय भएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सहिद दिवसका दिन मंगलबार सरकारले बिदा नदिएको बताए।

अघिल्लो सरकारले निर्णय नगरेकाले यो वर्ष सहिद दिवसका दिन बिदा नदिने नहुने उनले जानकारी दिए।

‘अघिल्लो सरकारले निर्णय गरेको रहेनछ, त्यही आधारमा बिदा नदिइने भएको छ,’ उनले भने,‘अर्को वर्षका लागि भने बिदा दिने निर्णय अहिलेको सरकारले गरिसकेको छ।’

भट्टराईका अनुसार अर्को वर्ष सहिद दिवसमा बिदा दिने निर्णय हालसालै बसेको मन्त्रिपरिषद बैठकले गरेको हो।

‘वैशाखमा क्यालेन्डर निकालिने भएकाले प्रायःजसो माघमै बिदासम्बन्धी निर्णय हुन्छ,’ उनले भने,‘हालसालै बसेको मन्त्रिपरिषद बैठकले अर्को वर्षका लागि निर्णय गरिसकेको छ। तर, यसपालिका लागि अघिल्लो सरकारले त्यस्तो निर्णय गरेको छैन।’

सरकारले २०८१ का लागि माघ १६ मा सहिद दिवस र रामनवमीका दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

२०७७ मा राजपत्रमा प्रकाशित गरिएको सूचनामा २०७८ सालको लागि घोषणा गरिएको सार्वजनिक बिदाको सूचीमा सहिद दिवस र रामनवमीका दिन बिदा दिने परम्परा हटाइएको थियो।

 

Tags: