post-slider post-slider

कोसीमा एमाले–राप्रपाबीच तालमेल : २०७८ जस्तो ‘उलटफेर’ हुने सम्भावना कति?

Image
A A

काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेसमा एमाले र राप्रपाबीच तालमेल भएको छ।

सोमबार बसेको दुवै दलको बैठकले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो।

सहमतिअनुसार दुवै पार्टीले एकएक उम्मेदवारलाई सघाउने सहमति भएको कोसी प्रदेससभामा एमालेका प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए।

तालमेलको सहमतिपछि राष्ट्रियसभा निर्वाचनमा राप्रपाले एमालेकी महिला उम्मेदवार र एमालेले राप्रपाले अन्य समूहका उम्मेदवारलाई सघाउनेछ।

एमालेले महिला समूहबाट रूक्मिणी कोइरालालाई र राप्रपाले अन्य समूहबाट उद्धव पौडेललाई उम्मेदवार बनाएको छ।

महिला समूहमा एमालेकी कोइरालाका साथै गठबन्धनतर्फबाट माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार छन्। त्यस्तै अन्यतर्फ पौडेलका अतिरिक्त नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेकै पर्शुराम अधिकारी उम्मेदवार छन्।

एमाले र राप्रपाको तालमेलपछि अधिकारीको उम्मेदवारी ‘निष्क्रिय’ हुनेछ।

दुई दलबीच भएको तालमेलपछि अब कोसी प्रदेसमा महिलातर्फ कोइराला र कार्कीबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै अन्य समूहमा पौडेल र सिटौलाबीच प्रतिस्पर्धा हुनेछ।

राप्रपा कोसी प्रदेस संसदीय दलका नेता भक्ति सिटौलाले पनि राष्ट्रियसभा निर्वाचनमा एमालेसँग तालमेल गर्ने सहमति भएको बताए।

‘एमालेको महिलातर्फका उम्मेदवारलाई हामीले र अन्य समूहबाट रहनुभएका हाम्रा उम्मेदवारले उहाँहरूले सघाउनु हुनेछ,’ सिटौलाले भने।

मतदानका हुन तीन दिन बाँकी छँदा तालमेल गर्ने सहमति भए पनि चुनाव जित्नेमा दुवै दल ढुक्क देखिएका छैनन्। गठबन्धनका सबै दल र एमाले–राप्रपाबीच रहेको मतभारको अन्तरले आफ्नो उम्मेदवार जित्नेमा उनीहरू ढुक्क छैनन्।

एमालेका प्रमुख सचेतक भण्डारीले तालमेलपछि नजिक पुगेको तर जित्नेमा ढुक्क नरहेको बताए।

‘नजिक पुगेका छौं। मतभारको हिसाबले सात साढे सात सयको अन्तर छ। आशावादी भएका छौं,’ उनले भने,‘अघिल्लोपटक जस्तो आशावादी हुने अवस्था छैन। त्यसैले कन्फर्म छैनौं।’

अघिल्लोपटक जस्तो उलटफेर हुने अवस्था नभएको भन्दै भण्डारीले आफूहरू आशावादीमात्रै रहेको बताए।

२०७८ मा भएको थियो उलटफेर

अघिल्लोपटक भनेर उनले २०७८ साल माघमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनतर्फ संकेत गरे।

त्यो निर्वाचनमा पाँचदलीय गठबन्धन एकै ठाउँमा उभिएर चुनाव लड्दा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो।

गठबन्धनकै केही मतदाताले ‘फ्लोर क्रस’ गरिदिएपछि गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हेमराज राई पराजित भएर एमालेका सोनम ग्याल्जेन शेर्पा निर्वाचित भएका थिए।

त्योबेलाको मतपरिणामअनुसार गठबन्धनतर्फका दुई प्रदेस सांसद र स्थानीय तहका ११ जनप्रतिनिधिले ‘फ्लोर क्रस’ गरेका थिए।

अघिल्लोपटक जस्तो यसपालि उलटफेरको सम्भावना न्यून रहेको भण्डारीको भनाइ छ।

उनी भन्छन्,‘अघिल्लोपटक जस्तो सम्भावना यसपालि देखेका छैनौं। गठबन्धनले आफ्ना मतदातालाई बढी कडाइ गरेको छ। यद्यपि हाम्रो कोसिस जारी रहनेछ।’

यस्तो छ कोसीको अंकगणित

राष्ट्रियसभा निर्वाचनमा सम्बन्धित प्रदेसका प्रदेससभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन्।

पछिल्लो जनगणनाको हिसाबले प्रत्येक प्रदेस सांसदको ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९–१९ निर्धारण गरिएको छ।

कोसी प्रदेससभामा प्रदेससभा सदस्यको संख्या ९३ छ। त्यस्तै स्थानीय तहको संख्या १३७ छ।

स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २७४ हुनेछ। यसरी कोसी प्रदेसको कुल मतदाता ३६७ र कुल मतभार १० हजार १३५ हुनेछ।

महिला र अन्य दुवै समूहमा २–२ जना उम्मेदवार भएका कारण कुल मतभारको बहुमत अर्थात ५ हजार ६८ मत भए जित सुनिश्चित हुन्छ।

९३ सदस्यीय प्रदेससभामा एमालेका ४० सांसद रहेका छन्। त्यस्तै कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसद छन्।

कांग्रेसका प्रमुख उपप्रमुख ११३, एमालेका ११३, माओवादी केन्द्रका ३१, नेकपा एसका ७, जसपा र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन्।

प्रदेस र स्थानीय तह गरी एमालेको मतभार ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ।

यो प्रदेसमा एमालेको भन्दा सत्ता गठबन्धनको मतभार १ हजार १८८ले बढी छ। राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ।

कोसीमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाबीच गठबन्धन छ। र, गठबन्धनको कुल मतभार ५ हजार ४३६ रहँदा एमाले–राप्रपाको कुल मतभार ४ हजार ६४२ हुनेछ।

स्थानीय तहका तीन स्वतन्त्र मतदाताले साथ दिएको अवस्था पनि एमाले–राप्रपा बहुमतनजिक पुग्न कठिन देखिन्छ।

अघिल्लोपटक जस्तो केही उलटफेर नभएको अवस्थामा गठबन्धनका दुवै उम्मेदवार सिटौला र कार्कीले सहजै जित्ने देखिन्छ।

 

 

 

Tags: