post-slider post-slider

बैंकहरुले ब्याजदर घटाउँदा फाइदा कसलाई?

Image
A A

काठमाडौं- नेपालका अधिकांश वाणिज्य बैंकहरुले माघ १ गतेदेखि कर्जा र निक्षेप दुवैको नयाँ ब्याजदर लागु गरेका छन्।

निक्षेप बढिरहेको तर कर्जा प्रवाहमा उल्लेख वृद्धि नभएकाले अधिकांश बैंकहरुले कर्जाको ब्याजदर घटाएको बताइन्छ।

त्यस्तै निक्षेपको ब्याजदर पनि केही मात्रामा कम भएको बैंकहरुले सार्वजनिक गरेको विवरणले देखाएका छन्।

नेपालको अर्थतन्त्रमा अझै पनि ‘शिथिलता’ रहेको तथा कर्जा प्रवाह उच्च रुपमा बढिहाल्ने अवस्था नभएका कारण आगामी महिनाहरुमा ब्याजदरमा थप कमी आउनसक्ने जानकारहरुको भनाइ छ।

उनीहरुका अनुसार घट्दो ब्याजदरले लगानीकर्तालाई फाइदा पुग्नसक्छ भने छोटो अवधिका निक्षेपकर्ताले ब्याज कम पाउने अवस्था बन्छ।

नेपाल राष्ट्र बैंकका अधिकारी तथा बैंकिङ क्षेत्रका जानकारहरुका भनाइमा अहिले निक्षेप अधिक भएर बैंकहरुसँग लगानीयोग्य रकम धेरै भएकाले ब्याजदर कम भएको हो।

अहिले बैंकहरुले प्रत्येक महिनाजस्तो ब्याजदरमा हेरफेर गरिरहेका छन्।

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोख्रेल अहिले लगानीयोग्य रकम बढेकाले ब्याजदर घटेको बताउँछन्।

‘निक्षेप र कर्जा दुवै बढिरहेको छ। तर, निक्षेप बढे अनुसार कर्जामा धेरै वृद्धि नहुँदा लगानीयोग्य रकम पर्याप्त छ। त्यसले ब्याजदर कम हुन थालेको हो,’ उनी भन्छन्।

नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांकअनुसार गत मंसिर महिनासम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा ४.६ प्रतिशतले निक्षेप बढेको छ।

त्यो भनेको कुल २ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँको वृद्धि हो।

गत आर्थिक वर्षको सोही अवधिमा त्यस्तो वृद्धिदर २.२ प्रतिशतमात्र रहेको थियो। त्यो भनेको १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ हुन आउँछ।

वार्षिक बिन्दुगत आधारमा भने गत मंसिर मसान्तसम्म वित्तीय संस्थाहरुमा रहेको निक्षेप १५ प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

बैंकहरुमा बचत गर्नेमध्ये सबैभन्दा धेरै मुद्दती बचतकर्ता रहेका छन्।

राष्ट्र बैंकको विवरणअनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमध्ये ६०.७ प्रतिशत मुद्दती निक्षेपको अंश रहेको छ।

त्यस्तै २६.७ प्रतिशत बचत र ६.३ प्रतिशत निक्षेप चल्ती खातामा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब १० अर्ब ६ करोड रुपैयाँले बढेको छ। त्यो भनेको २.३ प्रतिशतको वृद्धि हो।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा भने मात्र ७३ अर्ब ३० करोड अर्थात १.६ प्रतिशतलेमात्र कर्जा बढेको थियो।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा गत मंसिरसम्मा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.५ प्रतिशतले बढेको छ।

गत महिनाको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर केही कम गरेका छन्।

सबै बैंकहरुले घटाएको ब्याजदरलाई औसत मान्दा ब्याजदर करिब एक प्रतिशतले कम भएको देखिन्छ।

पुस महिनामा बैंकहरुले एक वर्षको अवधिको निक्षेपमा औसतमा झन्डै ९ प्रतिशत दिइरहेकोमा यो महिना करिब त्यो करिब ८ प्रतिशतमा झरेको छ।

बचत खातामा पनि गत महिनाको तुलनामा झन्डै आधा प्रतिशत ब्यादर कम भएको बैंकहरुले सार्वजनिक गरेको विवरणले देखाएको छ। यद्यपि केही बैंकहरुले गत महिनाकै ब्याजदर कायम पनि राखेका छन्।

निक्षेपसँगै कर्जाको ब्याजदर पनि केही कम भएको छ।

माघ महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत आधारदर करिब १० प्रतिशत (९.६४ प्रतिशत) को हाराहारीमा रहेको छ।

औसता आधारदर १० प्रतिशतको हाराहारी भए पनि केही बैंकहरुले १० प्रतिशतभन्दा कम आधारदर पनि राखेका छन्।

बैंकहरुले आधारभन्दा दुई प्रतिशत बढी ब्याज लिन पाउने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार हाल बैंकमा लगानीयोग्य रकम ठूलो मात्रामा रहेको छ। वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम ६ अर्ब जति रहेको बताइएको छ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार कर्जाको ब्याजदरमा कमी आउँदा ऋण लिइसकेका वा लिनेहरुलाई पनि ब्याज कम पर्न जान्छ।

तर छोटो अवधिका लागि निक्षेप गर्नेहरुका लागि भने घाटा हुनसक्छ। त्यस्तै बचत खाता वा चल्ती खातामा रकम राख्ने ब्याज कम पाउने अवस्था हुन्छ।

 

Tags: