विधेयक प्रमाणीकरणपछि संसदको सर्वोच्चता कायम भएको छ : निधि
काठमाडौं - नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएसँगै संसदीय लोकतन्त्रको मान्यता र संविधानअनुसार संसदको सर्वोच्चता कायम भएको बताएका छन्।
नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमलाई स्वागत गर्दै नेता निधिले यस्तो बताएका हुन्।
निधिले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नेपालको संविधान २०७२ ले नागरिकतासम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको समेत उल्लेख गरेका छन्।
‘यसबाट नेपालको संविधान २०७२ ले नागरिकतासम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ,’ बुधबार विज्ञप्ति जारी गरेर उनले भनेका छन्,‘बुबा र आमा दुवै जना नेपाली नागरिक भएर पनि वर्षौंदेखि नागरिकता नपाएकाहरूको सन्तानको समस्या समाधान हुने भएको छ।’
विधेयक प्रमाणीकरण भइसकेपछि २०७२ असोज ३ मा संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता पाएकाहरूको सन्तानले वंशजको नागरिकता पाउने उनले बताएका छन्।
संविधानले व्यवस्था गरेअनुसार ऐन निर्माण नहुँदा त्यस्ता नागरिकका सन्तानले नागरिकता पाउन नसकेको बताउँदै निधिले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै यस किसिमका सबै समस्या समाधान हुने आफूले विश्वास लिएको उल्लेख गरेका छन्।
नेता निधिले १० जेठमा प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गरेका थिए।
संघीय संसदको दवै सदनबाट पारित भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई कुनै किसिमको बाधा अडकाउ फुकाउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
संसदबाट दुईपटक पारित भइसकेको विधेयक पुनः संसदमा फिर्ता आउन नहुने बताउँदै उनले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।