post-slider post-slider

दसैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिँदै

Image
A A

काठमाडौं- नवरात्रको चौथो दिन आज दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ। नवरात्रको पहिलो दिन दसैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसैदिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली  शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो।

दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्री ब्रह्मचारिणीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरियो। चौथो दिन आज कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिँदै छ। 

आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो। कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ। 

नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत देवीस्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाको विशेष आराधना गर्छन्।

दूर्गा कवच मन्त्र-

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता।।।

नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ।

दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ। यिनै  दुर्गाका नौ रुपलाई नवदुर्गा पनि भनिन्छ। बडादसैंका १५ दिनमध्ये नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवम् दर्शन गर्ने भक्तजनको भिड लाग्ने गरेको छ।

Tags: