post-slider post-slider

जिबी राईको सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

Image
A A

काठमाडौं, फागुन ५ - गितेन्द्रबाबु राई (जिबी) संस्थापक अध्यक्ष रहेको सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन्।

सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईंलाई प्रहरीले शुक्रबार पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

पक्राउ परेका दुबै जनालाई अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको उनले बताए। दुबै जनालाई वडा प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ।

यो सहकारीका संस्थापक जिबी राई हुन्। उक्त सहकारीबाट एक अर्ब ७ करोड ८२ लाख हिनामिना भएको भन्दै बचतकर्ताहरूले उजुरी दिएका थिए।

यो सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड बढी रुपैयाँ ऋण लिएको देखिएको छ।

जिबी राईमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि परेका छन्।

उनीहरूको खाता विवरण माग्दै विभागले २० वटा बैंकलाई पत्राचार गरेको छ। यसमा उनीहरूले लिएको ऋण विवरण भए त्यो पनि उपलब्ध गराउन भनिएको छ। 

पोखराको सूर्यदर्शनलगायत सहकारीबाट अर्बौं रकम ठगी गरेको आरोप लागेका राई फरार छन्। उनलाई खोजी गर्न प्रहरीले इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरेको छ।

Tags: