post-slider post-slider

‘नाम र अनुहार फेरेर होइन दृष्टिकोण परिवर्तन गरेर रूपान्तरण गरौं’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पाँच वर्षका लागि गठबन्धन ठीकै भए पनि त्यसपछि तीनै तहमा कांग्रेस एक्लैले बहुमत ल्याउने गरी तयारी गर्नुपर्ने बताएका छन्।

आइतबार पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता निधिले यस्तो धारणा राखेका हुन्।

‘पार्टीको संगठन सुदृढीकरण गर्ने काममा हामी लागौं, प्रदेसहरूको अधिकारलाई सुनिश्चित गरौं। त्यसका लागि संविधान संशोधन गर्नुपर्छ भने गरौं,’ निधिले भने।

उनले नेपाली कांग्रेसमा व्यक्ति र नाम परिवर्तनभन्दा पनि दृष्टिकोण परिवर्तन गर्न जरूरी रहेको जिकिर गरे।

‘कांग्रेसमा मात्रै रूपान्तरण जरूरी भएको जस्तो भनिँदैछ। वडा, टोल, समाज, युवा, गरिब, दलित, आदिवासी जनजाति, महिलाहरूको रूपान्तरण गर्ने विषयमा हामीले बहस गर्न अहिलेको आवश्यक्ता हो,’ उनले भने।

उनले रूपान्तरणको बहस चलेको मात्रै होइन सार्थक रूपमा रूपान्तरण भइरहेको समेत बताए।

‘आजकल देशभित्र पनि पार्टीमा पनि रूपान्तरणको बहस चलेको छ। नेपालको इतिहासलाई हेर्ने हो भने शीर्षकको घोषणा नगरे पनि सार्थक रूपमा रूपान्तर भएको पनि छ। क्रान्ति र परिवर्तन सशस्त्र क्रान्तिको बाटोबाट अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनबाट सम्भव छ भन्ने रूपान्तरित भएको छ। सार्वमौमसत्ता जनतामा निहीत छ भन्ने प्रमाणिक रूपमा रूपान्तरित भएको छ,’ उनले भने।

संविधानसभाबाट संविधान निर्माण गर्न पाउनु रूपान्तरणको स्वर्णीम उपलब्धि ठान्नुपर्ने निधिको भनाइ छ।

उनले राजनीतिको सामाजिकीकरण गर्नु आजको आवश्यक्ता भएको उल्लेख गरे। निधिले भने,‘सोजेलाइजेसन अफ पोलिटिक्स आजको रूपान्तरणको एजेन्डा हुनुपर्छ।’

अनुहार र पदमात्रै फेरेर रूपान्तरण सम्भव नभएको उनको भनाइ छ।

‘अनुहार फेर्नु, नाउँ फेर्नु, पद फेर्नुले मात्रै रूपान्तरणलाई लक्ष्यमा पु¥याउँदैन। राजनीतिको सामाजिकरणका लागि नेपाली कांग्रेसले रूपान्तरण गर्नुपर्दछ,’ निधिले भने।

 

Tags: