post-slider post-slider

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगीलाई राष्ट्रपतिको आह्वान

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा सुरू भएको सम्मलेनलाई उदघाटन गर्दै पौडेलले यस्तो आह्वान गरेका हुन्।

पौडेलले भने,‘नेपालमा लगानीका अवसर बढ्दै गएका छन् र लगानी सहज बनाउने कानुनहरू निर्माण भइरहेका छन्। म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु।’

उनले आर्थिक विकासको तीब्र चाहना बोकेको देशको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न लगानी र व्यापार सम्बन्धका धेरै अवसरहरू रहेको बताए।

‘नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोेलेको छ। म नेपालको जलविद्युतको क्षेत्रमा लागनी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु,’ पौडेलले भने।

राष्ट्रपति पौडेलले साना र मझौला उद्यमहरू आफूहरूको अर्थतन्त्रको मेरूदण्ड भएको बताए।

उनले शक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरूलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरूलाई अपिल पनि गरे।

 

Tags: