गाजामा इजरायलको स्थल आक्रमणको तयारी, आक्रमणले कस्तो स्वरूप लिनसक्छ?
काठमाडौं- इजरायलले गाजामा स्थल आक्रमणको तयारी गरिरहेको छ।
उसको सेनाले गाजाको उत्तरी क्षेत्रमा बसिरहेका ११ लाख मानिसहरूलाई दक्षिणमा स्थानान्तरण हुन भनेको छ।
यसैबीच दशौं हजार फौज, ट्याङ्क र गोलीगठ्ठाहरू सीमा नजिक तयार गरिएका छन्।
तर, व्यापक जनघनत्व रहेको गाजाको सहरी क्षेत्रहरूमा स्थल फौजहरू पठाएर गरिने सैन्य कारबाही जोखिमसहितको चुनौती हो।
अहिलेसम्म उक्त सम्भावित स्थल कारबाहीको दायर प्रस्ट छैन। यो आक्रमण कति परसम्म जान्छ र कति समय चल्छ भन्नसक्ने अवस्था छैन।
कहिलेबाट आक्रमण हुनसक्छ?
स्थल कारबाहीका लागि आवश्यक पूर्वतयारीहरू सुरू भइसकेका छन्।
मेजर जनरल आमोस गिलीअड इजरेली डिफेन्स फोर्सेजका अवकाशप्राप्त वरिष्ठ अधिकारी हुन् र उनले विगतमा गाजामा सैन्य कारबाहीबारे विज्ञता हासिल गरेका छन्।
उनका अनुसार इजरायलले सबैभन्दा पहिला गर्नुपर्ने काम भनेको अब हुने घटनाक्रममा नागरिकको समर्थन प्राप्त गर्नसक्ने एकताको सरकार बनाउनु हो।
हालै भएका अमेरिकी र युरोपेली नेताहरूका उच्चस्तरीय कूटनीतिक भ्रमणहरूले इजयारललाई अन्तर्राष्ट्रिय समर्थन वृद्धि गर्न सघाएको छ। तर, यो ऐक्यबद्धता युद्ध लम्बिँदा र गैरसैनिक नोक्सानी बढ््दै जाँदा कमजोर पनि हुनसक्छ।
सैनिक कारबाहीका क्रममा इजरायली सेनाले भोग्नसक्ने उल्लेख्य क्षतिले पनि उसको सामथ्र्यको परीक्षण गर्नेछ।
सैनिक तयारीको कुरा गर्दा इजरायलले गाजाको सीमा नजिकै आफ्ना फौजहरूलाई तैनाथ गरिसकेको छ।
आपतकालीन अवस्थामा फौजमा तत्कालै भर्र्ना गर्न सकिने तालिम पाएका करिब ३ लाख जगेडा फौजहरूलाई क्रियाशील गराइएको छ भने १ लाख ६० हजारभन्दा बढी नियमित सैनिकहरूलाई तम्तयार अवस्थामा राखिएको छ।
हमासले आक्रमण गरेको पहिलोपटक थाहा पाउँदा श्रीलंकामा रहेका निजिमले आफ्नो युनिटमा हाजिर हुन पहिलो फ्लाइट समातेका थिए।
कारबाहीको आवश्यक्ताबारे इजरायल एकमत देखिन्छ र लडाइँको आदेशको त्यहाँ प्रतिक्षा भइरहेको छ।
जति लामो समय फौजहरूलाई कुराइन्छ त्यति नै उनीहरूको तत्परता र मनोबल कायम राख्न अप्ठेरो देखा पर्न सक्छ।
गाजामा रहेका प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ भाग्न इजरायलले दिएको चेतावनी अर्को चरणको उसको सैनिक कारबाही अवश्यम्भावी भएको संकेत हो।
आक्रमणको तयारी
इजरायलको पहिलो काम आफ्नो भूमिको सुरक्षा गर्नु र सीमा पार गरेर आफ्नो मुलुकभित्र प्रवेश गरी १३ सयभन्दा बढीको हत्या गर्ने र कम्तीमा डेढ सय जनालाई बन्धक बनाउने हमास विद्रोहीहरूको हत्या गर्ने, वा उनीहरूलाई नियन्त्रणमा लिने र सोधपुछ गर्ने रहेको थियो।
इजरायलले हमासको सैनिक नेतृत्व र पूर्वाधारहरूलाई निशाना बनाउँदै अहिले नै व्यापक हवाइ आक्रमणहरू गरिसकेको छ।
पछिल्लोपटक ६ दिनमा उसको वायु सेनाले गाजामा ६ हजारभन्दा बढी बम खसालेको छ।
तुलना नै गर्ने हो भने सन् २०११ मा लिबिया युद्धमा नेटोका फौजहरूले पूरै लडाइँ अवधिभर ७ हजार ७ सय बम खसालेका थिए।
अहिलेसम्म गाजामा गरिएका हवाइ आक्रमणमा १५ सयभन्दा बढीको ज्यान गएको छ।
हमलाको योजना गोप्य रूपमा अघि बढाइने भए पनि हमासले वर्षौंदेखि त्यसका लागि तयारी गर्दै आएको थियो।
उसले आफ्ना फौजहरूको तालिम दशौं लाख डलर खर्च गरेर दक्षिणमा निर्माण गरिएको एउटा सहरी युद्ध अभ्यास केन्द्रमा गराउँदै आएको थियो।
यो स्थानलाई मिनी गाजा भन्ने गरिएको छ।
त्यहाँ उनीहरूले साँघुरो गरी निर्माण गरिएका भवन र सुरुङहरूमा कसरी लडाइँ गर्ने भन्ने अभ्यास गरेका छन्। हमासाले एक हजारभन्दा बढीको संख्यामा त्यस्ता संरचना बनाएको ठानिन्छ।
जेरूसलेम पोस्टका पूर्वसम्पादक तथा इजरायली सेनाबारे प्रकाशित कैयौं पुस्तकका लेखक याकोभ कात्सका अनुसार विशिष्ट ब्रिगेडहरूलाई त्यस्तो खालको परिस्थितिमा काम गर्न प्रशिक्षित बनाइएको छ।
उनले इन्जिनियरहरू, हतियारसहितका बुल्डोेजर र ट्याङ्कहरूले मिलेर त्यस्तो कारबाही गर्ने अभ्यास गरेको जनाए।
सहरी युद्ध मैदान र सुरुङ
अवकाशप्राप्त मेजर जनरल याकोभ एमिडरोर इजरायली रक्षा फौज आइडिएफका पूर्वकमान्डर र पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार हुन्। उनले हमासविरूद्धको लडाइँ कठिन हुने स्वीकार गरे।
हमासले विस्फोटक पदार्थसहितका धराप प्रवेश द्वार र साँघुरा गल्लीहरूमा थाप्ने उनले बताए।
इजरायलले हमासका फौजीहरूको संख्या ३० हजार रहेको अनुमान गरेको छ। उनीहरूसँग स्वचालित राइफल, रकेट, ग्रिनेड र ट्याङ्कलाई ध्वस्त पार्नसक्ने क्षेप्यास्त्रसहितका अस्त्र छन्। त्यसमध्ये कतिपय रूसमा बनेका छन्।
अझै पनि हमाससँग रकेटहरूको ठूलो भण्डार छ जुन उनीहरूले इजरायतर्फ प्रहार गरिरहेका छन्।
याकोभ कात्सका अनुसार हमासले आत्मघाती हमला गर्ने सामथ्र्य भएका साना ड्रोनहरू पनि आफैं उत्पादन गर्दै आएको छ।
उनले हमाससँग काँधमा राखेर आकाशमा रहेका मिसाइल खसाल्न प्रयोग गर्न सकिने अस्त्रहरूको सीमित भण्डार भएको पनि उल्लेख गरे।
हमाससँग इजरायलजस्तै बख्तरबन्द गाडी, ट्याङ्क र गोलाबारी छैन। तर, व्यापक जनघनत्व रहेको सहरी क्षेत्रमा युद्ध गर्नु इजरायलका लागि चुनौती हो।
सुरुङ युद्धका लागि इजरायलसँग विशिष्ट इन्जिनियरिङ शक्ति छ र उसको अर्को युनिटले कुकुरहरूलाई प्रयोग गरेर फौजी कारबाही गर्नसक्छ।
बन्धकहरूको भविष्य
इजरायलबाट बन्धक बनाइएका मानिसहरूको विषयले पनि स्थल कारबाहीलाई जटिल बनाउनेछ।
मेजर जेनरल गिलिअड सन् २००६ देखि सन् २०११ सम्म पाँच वर्ष हमासले बन्धक बनाएका एक जना इजरायली सैनिक गिलाड सलिटको रिहाइसम्बन्धी वार्ताहरूमा सहभागी थिए।
एक हजारभन्दा बढी प्यालेस्टिनी बन्दीहरूसँग उनलाई साटिएको थियो।
इजरायलको उद्देश्य के हो?
इजरायलको घोषित नीति हमासलाई निमिट्यान्न पार्नु हो।
३० वर्षसम्म इजरायली डिफेन्स फोर्समा काम गरेका मेजर जनरल गिलिअड विगतमा गाजाभित्र गरिएको कारबाही ‘दमन गर्ने उद्देश्य’ साथ भएको भन्दै अब त्यसको दायरा धेरै फराकिलो हुने ठान्छन्।
निर्णायक सैनिक कारबाहीले उक्त क्षेत्रमा रहेका इजरायलका अन्य शत्रुहरू हिजबुल्लाह र इरान पनि हच्कने उनको विश्वास छ।
कात्सले इजरायले बढी व्यवहारिक लक्ष्य राख्ने र उसले भविष्यमा इजरायलमाथि फेरि आक्रमण गर्ने सामथ्र्य हमासको कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्न खोज्ने बताए।