post-slider post-slider

फेरि आयो मेलम्चीको पानी राजधानीमा

Image
A A

काठमाडौं, माघ १ - मेलम्ची खनेपानी आयोजनाको पानी काठमाडौंमा पुन: वितरण सुरू भएको छ।

मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ भएसँगै अनामनगर, मीनभवन, महांकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिक रूपमा पानी वितरण सुरू भएको छ।

बाढी तथा पहिरोका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको हो।

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण कम्पनी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो।

२८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरू गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो। २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन्। 

सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुन:वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताएका हुन्।

कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको जनसंख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभाष समाधान गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले भने,  ‘काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत् छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ।’

कार्यक्रममा प्रधानमन्त्रले ‘आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने र हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको बताए।

 

Tags: