post-slider post-slider

सुदूरपश्चिममा आज ‘ओल्के’ पर्व मनाइँदै

Image

धनगढी- आज भदौ १ गते सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। ओल्के संक्रान्ति आज सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेश भर धुमधाम सँग मनाइन थालिएको हो।

साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।

ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।

विगतमा वर्षा याममा दादुरा, झाडापखाला, लुतो, हैजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के पर्व मनाउँदै आएको संस्कृत विद् डा. बद्रिशर्मा विनाडी बताउँछन्।

साउन महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसँगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गरेको छ।

पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उनका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ।

ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको छ।

ओल्के पर्वको अबसरमा आज सुदुरपश्चिम प्रदेश सरकारले प्रदेश भर सार्वजनिक बिदा समेत दिएको छ।

Tags: