post-slider post-slider

‘पार्टीका नेताहरूलाई बचाउनतर्फ लागेको छैन’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका घटनामा आफ्नो पार्टीका नेताहरूलाई बचाउनतर्फ नलागेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भ्रष्टाचारको अनुसन्धानको क्रममा जोसुकैको नाम आए पनि छानबिन गर्न प्रहरीले निर्देशन दिएको बताए।

‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ का क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले विभिन्न पार्टीका नेताहरूलाई ‘साइज’ मा राख्ने काम भइरहेको आरोप लगाएका थिए।

विभिन्न प्रकरणका फाइल खोलेर राजनीतिक दलहरूलाई ‘साइज’ मा राख्ने काम भइरहेको उनको भनाइ थियो।

‘नक्कली भुटानी शरणार्थीको फाइल खोलेर कांग्रेसलाई साइजमा राख्नुभयो। ललिता निवासमार्फत एकीकृत समाजवादीलाई साइजमा राख्नुभयो। गौर हत्याकान्डमार्फत जसपालाई। अब गिरीबन्धुमार्फत नेकपा एमालेलाई राख्न ट्राई गर्दै हुनुहुन्छ। आफ्नो कुर्सी बचाउन दाउपेच गर्नुभन्दा कामनले मन जितेर कुर्सीको आयु लामो बनाउन सकिँदैनन्थ्यो?,’ साहको प्रश्न थियो।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकार टिकाउनका लागि भ्रष्टाचारका फाइल नखोजेको बताए।

उनले भने, ‘सरकारका यी काम कुनै कुर्सी टिकाउनका लागि होइन। बरू देश र जनतामा राजनीतिक प्रणालीप्रति नै वितृष्णा छाएको, केही हुन्न, सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न गरिएको हो।’

भुटानी शरणार्थी प्रकरणलगायतका घटनामा राज्यले दबाबरहित ढंगले निष्पक्ष छानबिन अघि बढाएकै कारण अहिले जनतामा सुशासन छ भन्ने नयाँ आशा पलाएको उनले दाबी गरे।

प्रचण्डले सरकार भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति लिएर अघि बढेको बताए। उनले भने, ‘सरकार भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति लिएर अघि बढेको छ। कसैलाई पनि बचाउन या कसैलाई पनि अप्ठ्यारोमा पार्ने नियतले कुनै पनि काम गरिएको छैन।’

कतिपय सन्दर्भमा मिडियामा आउने गरेको भन्दा ठीक विपरित आफूले दोषी कोही पनि नछुटुन् र निर्दोष कोही नपरून् भन्ने सिद्धान्तअनुसार अनुसन्धान अघि बढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको उनले बताए।

‘यदि अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन। मेरो पार्टीको कुनै नेताको त के कुरा भन्ने कुरा सार्वजनिक रूपमा भन्दै आएको जानकारी गराउन चाहन्छु,’ प्रचण्डले भने।

 

 

Tags: