post-slider post-slider

समाजवादी मोर्चाको घोषणा आज

Image
A A

काठमाडौं- समाजवादी मोर्चाको घोषणा सोमबार गरिने भएको छ। राष्ट्रिय सभागृहमा कार्यक्रमको योजना गरेर मोर्चाको घोषणा गर्न लागिएको हो।

मोर्चामा चार दल रहने भएका छन्।

मोर्चामा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहने भएका छन्।

आइतबार बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले सोमबार मोर्चा घोषणा निर्णय गरेको थियो।

राजनीतिक स्थिरताका लागि भन्दै सत्तारुढ गठबन्धन र सत्ताबाहिरको कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको हो।

आलोपालो नेतृत्व गर्दै संसद र सडकमा समान विचार भएका मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नका लागि मोर्चा बनाइएको नेताहरूले बताएका छन्।

मोर्चा सञ्चालनका लागि तत्काल दुई तहको संरचना बनाउने तयारी छ। शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय घोषणा गर्न लागिएको छ।

घोषणापछि प्रतिनिधिसभामा मोर्चाका ५४ सांसद हुनेछन्। जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्।

तत्काल चार दल सम्मलित मोर्चाको घोषणा हुन लागे पनि समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएको नेताहरूले बताएका छन्।

नेताहरूका अनुसार समाजवादी मोर्चाको प्रमुख उद्देश्य संघीयता, लोकतान्त्रिक व्यवस्था, सुशासन, आर्थिक समृद्धि रहेको छ। 

मोर्चाले अर्थतन्त्र, रोजगारी, आत्मनिर्भरताका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने नेताहरूले बताएका छन्।

 

Tags: