बाढीपहिरोका कारण १० जनाको मृत्यु, २६ वेपत्ता
काठमाडौं- अबिरल वर्षापछि आएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ।
पछिल्लो चार दिनमा आएको बाढी र पहिरोमा परी १० जनाको ज्यान गएको हो।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधिसभा बैठकमा असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मत्यु भएको जानकारी दिएका हुन्।
विपदका घटनामा ६ जना घाइते, २६ जना वेपत्ता र ५४ घर पूर्णरूपमा क्षति भएको उनले बताए।
अविरल वर्षाका कारण पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ।
गृहमन्त्री श्रेष्ठले विपद पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकका परिवारलाई राहत दिने पनि बताए।
उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्डबमोजिम तत्काल पुनःस्थापनाका लागि रकम दिन जानकारी दिए।
मापदण्डमा मृतकको परिवारलाई २ लाख रूपैयाँ राहत दिने र एकै परिवारको एकभन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रूपैयाँ दिने व्यवस्था छ।
घरबास क्षति भएकालाई तत्काल गुजाराका लागि प्रतिपरिवार १५ देखि २० हजार रूपैयाँ उपलब्ध गराउने व्यवस्था मापदण्डमा छ।