post-slider post-slider

यस्तो छ पथरीकी ज्ञानमति थुलुङ हत्याको नालिबेली

Image
A A

काठमाडौं, फागुन २२ - मोरङको पथरी-शनिश्चरे-७  लामाटोलीमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ खोटाङ ऐंसेलुखर्क-६ सल्लेकी हुन्। उनी मामाको छोरा विनोद राईको घरमा दुई वर्षअघि मात्रै आएकी थिइन्।

उनी त्यहीँको पञ्चायत उच्च माविमा कक्षा ७ मा पढ्दै आएकी थिइन्। विनोद होटल व्यवसाय गर्थे। उक्त होटलमा ज्ञानमतिले फुर्सदमा कामसमेत सघाउँदै आएकी थिइन्।

ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धिरेन खाँ चौधरीसँग उनको दुई-अढाइ वर्षदेखि कुराकानी सुरू भएको थियो सामाजिक सञ्जाल - इमोबाट। जतिबेला धिरेन वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा थिए।

इमोबाट सुरू भएको कुराकानी फेसबुक, ह्वाट्सएपसम्म पुगिहाल्यो। एक-अर्कालाई उनीहरूले भर्चुअल रूपमै चिने, भर्चुअलमै सामीप्यता बढाए।  

धिरेन घर ग्रामथानमा भए पनि आमा, श्रीमती र छोरासँग जितपुर सिमरा उपमहानगरपालिकामा बस्दै आएका थिए। उनले त्यहाँ घर बनाएका छन्। उक्त घरमा अहिले धिरेनकी आमा र उनका १४ वर्षका छोरा बस्छन्। श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छिन्।

बुवाले कान्छी श्रीमती ल्याएपछि उनले आमा, छोरा र श्रीमतीलाई ग्रामथानबाट बारा पुर्‍याएका थिए।

तर, धिरेनको श्रीमतीसँग त्यति राम्रो सम्बन्ध छैन। श्रीमतीसँग राम्रो सम्बन्ध नभएका धिरेन छोराकै उमेरकी किशोरावस्थाकी ज्ञानमतिसँग नजिकिन थाले। धिरेन विवाहित भएको थाहा पाउँदा-पाउँदै पनि ज्ञानमति संगत गर्दै गइन्।

अन्तिममा ज्ञानमति होइन, धिरेन उनीसँग छुट्टिनै नसक्ने गरी प्रेममा परे।

गत साल कुवेतबाट धिरेन आएका थिए। बारा आएको केही समयपछि गत असारमा धिरेन पथरी पुगे। लुगा-कपडालगायत गिफ्ट पनि ज्ञानमतिलाई दिन भ्याइहाले।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार धिरेनसँग एक पटक भागेर बिहे गर्न ज्ञानमतिले प्रयास गरेकै थिइन्। जसो धिरेन पथरी पुगे, उनीसँग ज्ञानमति चलिहालिन्।

धिरेनले ज्ञानमतिलाई जोगबनी नाका हुँदै भारततर्फ भगाउन खोजेका थिए। ‘तर, प्रहरी र माइती नेपालले शंकास्पद ठानेर धिरेनलाई पक्राउ गर्‍यो, एक दिन रानी थानामा राखियो,’ दाहालले भने।

 

त्यसपछि आफन्तहरूलाई बोलाइयो। दुबै पक्षका आफन्त आएर जिम्मा लिने क्रममा ज्ञानमतिका परिवारले धिरेन विवाहित भएको, हुर्केका छोरासमेत रहेको वास्तविकता चाल पाइहाले।

यसपछि उनीहरूले ज्ञानमतिलाई झपार्न थाले। धिरेनसँगको सम्बन्ध उचित नहुने भन्दै सम्झाउँदै टाढिन सुझाव दिइरहेका थिए।

ज्ञानमति उक्त सुझावमा लगभग ‘कन्भिन्स’ हुन थालेकी थिइन्। ‘तै पनि उनीहरूको बीचमा सामाजिक सञ्जालमा कुरा भइरहेकै रहेछ,’ दाहालले भने।

विगत केही समयदेखि भने उनीहरूबीच विवाहको विषयमा मनमुटाव सुरू भयो। जतिबेला धिरेनलाई ज्ञानमतिका परिवारले समेत फोन गरेर सम्बन्धबाट टाढिन भनिरहेका थिए।

धिरेन बिहे गर्न हतार गर्ने, ज्ञानमतिले नमान्ने भएपछि मनमुटाव सुरू भयो।

यसरी झगडा हुन थालेपछि धिरेन बाराबाट दुई दिनअगाडि मात्रै पथरी आइपुगेका थिए।

‘उनी योजनाबद्ध रूपमै मोरङ आएर पथरीस्थित ज्ञानमति बसेको घरमा पुगेको देखिन्छ,’ दाहालले भने।

ज्ञानमतिको ज्यान लिने उद्देश्यले उनी लामाटोली पुगेर सोमबार राति ढुकिरहेका थिए। राति १० बजेर १० मिनेट जाँदा ज्ञानमति घरनजिकैको ट्वाइलेटमा पुगेकी थिइन्। विनोदले गड्याङगुडुङ आवाज सुनेर बाहिर निस्केर हेर्दा ज्ञानमति मुढो लडैझैं भुइँमा लडिरहेकी थिइन्, रगतको आहाल बनेको थियो। प्राण उडिसकेको थियो।

यसपछि विनोदले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली परिचालन हुँदा मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्गको भाउन्नेस्थित जंगलमा धिरेन फेला परे।

दाहालका अनुसार घटना भएको नजिकै खुकुरीको दाप फेला परेको छ। धिरेनका पाइलाहरू देखिएका छन्। तर, धिरेनले ज्ञानमतिसँगको सबै सम्बन्ध स्वीकार गरे पनि हत्या नगरेको दाबी गरिरहेका छन्। ‘हामीसँग उनी घरसम्म पुगेको वस्तुनिष्ठ प्रमाण छ,’ दाहालले भने, ‘तर, उनले घटना स्वीकार गरेका छैनन्।’

प्रहरीले ज्ञानमतिको मोबाइल हेरेर धिरेनसँगको सम्पर्क पत्ता लगायो। त्यसपछि धिरेनको घर ग्रामथानमा प्रहरी पुगेको थियो।

त्यहाँ पुग्दा उनका बुवाले धिरेन तीन महिनादेखि ग्रामथानमा नआएको बताएका थिए।

ज्ञानमतिको गर्धनको आधा भागसम्म काटिनुको साथै दाहिने, देब्रे पाता र अनुहार गरी चार वटा ठूला-ठूला चोट हुने गरी खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारबाट किशोरीको गालाको भागहरू र कपाल छिनेर भुँइँमा खसेको अवस्थामा भेटिएको थियो।

ज्ञानमतिको शव पोष्टमार्टमको लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। खोटाङबाट परिवार आएपछि पोष्टमार्टम गरिने बताइएको छ।

बुवाको मृत्युपछि उनी पथरी झरेकी उनी सुरूमा मामाकी छोरी र पछि छोरा विनोदको घरमा बस्दै आएकी थिइन्।

घटना भएको केहीबेरमै इलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर सुशील पाण्डे, सशस्त्रलगायत प्रहरी टोली घट्नस्थल पुगेको थियो। कुकुर झिकाएर प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।

Tags: