post-slider post-slider

दुई मन्त्रीको भूमिका छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

Image
A A

काठमाडौं-  प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटना प्रकरणमा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो।

बैठकको निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले पुस १३ गते इपिएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु प्रकरणमा मन्त्रीद्वय ज्वाला र भण्डारीमाथि छानबिन गर्न बैठकले निर्देशन दिएको जानकारी दिए।

त्यस्तै मृतकका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय भएको उनले बताए।

समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन  नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकले घटनामा साना कर्मचारीहरूमात्र निलम्बन पर्ने र अरू उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको न्यायोचित समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने र उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायातमन्त्रीको भूमिकाका बारेमा छानबिन गर्न निर्देशन दिने निर्णय गरेको छ।

साथै यस प्रकारका घटना अब आइन्दा नहोस् भनि सबै पक्ष सजग रहन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ।

 

Tags: