रेशम चौधरी रिहा
काठमाडौं- टीकापुर घटनामा जन्मकैद सजाय काटिरहेका पूर्वसांसद रेशमलाल चौधरी सोमबार रिहा भएका छन्।
ग्णतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा भएका हुन्।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले चौधरीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।
मन्त्रिपरिषदको सिफारिसअनुसार चौधरीको करिब १५ वर्ष कैद सजाय माफ भएको हो। पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो।
यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको अवसरमा माफी पाएका छन्।
२०७२ सालमा भएको थरुहट आन्दोलनका क्रममा भदौ ७ गते टीकापुरको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो।
त्यो घटनाको योजनाकारका रुपमा चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो।
घटनाको योजनाकार आरोपप लागेपछि उनी भूमिगत भएका थिए। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन भूमिगत भएर लडेका उनी निर्वाचित भएका थिए।
प्रतिनिधिसभा सदस्यको सपथग्रहण नगर्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। पूर्पक्षका लागि थुनामै रहेका बेला १९ पुस २०७५ मा सांसदको सपथ लिएका उनलाई दुई महिनापछि जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनायो।
त्यसपछि २ पुस २०७७ मा उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला सदर गरेको थियो।
२ जेठमा सर्वोच्च अदालतले उच्च अदालत दिपायलले गरेको फैसलालाई सदर ग¥यो।