आज १२ बजेभित्र उद्योगको लाइन जोड्न मन्त्रिपरिषदको निर्देशन
काठमाडौं - सरकारले २४ घण्टाभित्र उद्योगहरूमा बिजुली जोड्न निर्देशन दिएको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै सो निर्देशन दिएको हो।
उद्योगमा विद्युत आपूर्ति बन्दा उत्पादन घट्न गएको, राजश्व संकलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेको हुँदा विद्युत लाइन सुचारू नभएका उद्योगमा सोमबार १२ बजेभित्र लाइन जोड्ने व्यवस्था गर्न उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई सरकारले निर्देशन दिएको छ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युतको बक्यौता रकम बिलअनुसार असुल उपर गर्न पनि निर्देशन दिएको छ।
नेपाल विद्युत प्राधिकरणले गत कात्तिक ८ गते विद्युत महसुलवापतको बक्यौता नबुझाएको भन्दै ४० बढी उद्योगको लाइन काटिदिएको थियो।
बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुल सम्बन्धी विवाद समाधानको लागि गठित जाँचबुझ आयोगले २०८१ वैशाख २३ मा पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।