post-slider post-slider

मलेसियामा बेपत्ता भएका गोपाल १८ वर्षपछि घर फर्किएपछि...

Image
A A

काठमाडौं- वैदेशिक रोजगारीका  क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन्।

१८ वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो।

छोरा सम्पर्कविहीन भएपछि उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेकी थिइन्।

शुक्रबार क्वालालाम्पुरबाट काठमाडौं आएका घिमिरे शनिबार घर आइपुगेको नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका शर्माले आमा सानीको कारूणिक अपिलपछि मलेसियामा रहेका नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा घिमिरेको उद्धार सम्भव भएको बताए।

‘गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उनकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो,’ शर्माले भने,‘यो नै सबैभन्दा ठूलो खुसी हो।’

गैरकानुनीरूपमा मलेसियामा रहेका घिमिरेलाई स्वदेश फर्काउन हवाइ टिकट र जरिवाना गरेर नेपाली १ लाख ४ हजार ६० तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले बताएका छन्।

२०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमति पाएर १९ वर्षको उमेरमा घिमिरे मलेसिया गएका थिए।

मलेसिया पुगेको एक सातापछि  उनीमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो।

त्यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो।

विदेशमा हराएको छोरा फर्केर घर आएकोमा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरेकी छन्। उनले छोरा खोजिदिन पहल गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्।

घिमिरेले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती बेहोर्नुपरेको बताए।

 

Tags: