post-slider post-slider

लोसपाभित्र ‘एक्लिएका’ राजेन्द्र नयाँ पार्टी खोल्ने तयारीमा!

Image
A A

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बोलाएको केन्द्रीय समिति बैठक गत आइबार सकियो। दुई दिन बस्ने गरी बोलाइएको केन्द्रीय समिति बैठक एक दिनमै सकियो।

बतीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको त्यो बैठकमा पार्टीका दुई वरिष्ठ नेताहरू राजेन्द्र महतो र अनिल झा देखिएनन्। 

दुई जना वरिष्ठ नेताकै अनुपस्थितिमा केन्द्रीय समिति बैठक अगाडि बढ्यो। र, विभिन्न निर्णय गर्दै समापन भयो।

लोसपाका नेताहरूले बैठकमा सहभागिताका लागि दुवै वरिष्ठ नेता महतो र झालाई खबर गरिएको बताएका छन्।

जानकारी भए पनि उनीहरू बैठकमा उपस्थित नभएको लोसपा नेताहरूको भनाइ छ।

महतो र झा केन्द्रीय समिति बैठकमा मात्रै अनुपस्थित भएका होइनन्। केन्द्रीय समिति बैठकको एजेन्डा तयार पार्न शुक्रबार बसेको पदाधिकारी बैठकमा पनि उनीहरू अनुपस्थित थिए।

‘उहाँहरू केन्द्रीय समिति बैठकमामात्रै अनुपस्थित हुनुभएको होइन। एजेन्डा तयार पार्न शुक्रबार पार्टी कार्यालयमा बोलाइएको बैठकमा पनि आउनु भएन,’ लोसपाका एक नेताले भने।

पदाधिकारी र केन्द्रीय समिति बैठकलाई महतोले ‘बहिष्कार’ गरेको उनीनिकट नेताहरूको भनाइ छ। 

पछिल्लो समय पार्टी अध्यक्ष महन्थ ठाकुरसँग असन्तुष्ट बनेका महतो अचेल पार्टी कार्यालयसमेत आउन छाडेका छन्।

‘उहाँ धेरै दिनदेखि पार्टी कार्यालयमा पनि देखिनुभएको छैन,’ ती नेताले भने।

अध्यक्ष ठाकुरले पदाधिकारी मनोनयनसँगै केन्द्रीय समिति विस्तार गरेयता महतो असन्तुष्ट बनेका छन्। र, त्यही असन्तुष्टि पोख्दै उनी केन्द्रीय समिति बैठकमा उपस्थित नभएका हुन्।

८ असोजमा पार्टीको ३११ सदस्यीय केन्द्रीय समिति र ६३ सदस्यीय पदाधिकारी बनाइएपछि गत आइतबार पहिलोपटक लोसपाको बैठक बसेको थियो। 

महतो र झा पदाधिकारीसहित विस्तारित केन्द्रीय समितिप्रति असन्तुष्ट थिए। मधेस आन्दोलन तथा पार्टीमा योगदान दिएका थुप्रै नेताहरूलाई केन्द्रीय समितिमा समावेश नगराइएको भनाइ उनीहरूको छ। 

मधेस आन्दोलनमा योगदान दिएका भने पनि खासगरेर महतो निकटस्थहरूलाई केन्द्रीय समितिमा समावेश गराएर पार्टीभित्र आफ्नो उपस्थितिलाई मजबुत बनाउन चाहेका थिए।

तर सबैको कुरा सुने पनि निर्णय भने आफ्नै हिसाबले गर्ने स्वभावका अध्यक्ष ठाकुर महतोले रूचाएका व्यक्तिहरूलाई केन्द्रीय समितिमा ल्याउन चाहेनन्। 

वरिष्ठ नेताहरू बैठकमा उपस्थित हुन छाडेपछि लोसपाभित्रको विवाद छताछुल्ल भएको छ।

ठाकुरले आफूनिकटका व्यक्तिहरूलाई मात्र प्राथमिकता दिएको भन्दै महतो रूष्ट छन्। उनले दुई महिनाअघि नै ठाकुरलाई निर्णय सच्याउन दबाब दिएका थिए।

अध्यक्ष ठाकुर निर्णय सच्याउन तयार नभएपछि महतो केन्द्रीय समिति बैठक बहिष्कार गर्ने निष्कर्षमा पुगेको उनीनिकट एक नेताले बताए।

केन्द्रीय समितिको ‘जम्बो’ टोलीमा आफ्नो पक्ष कमजोर बनेपछि महतो विरोधमा उत्रिएका छन्। एक नेताका अनुसार उनले आफूनिकट ४० जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग राखेका छन्।

सदभावना पार्टी हुँदै जसपासम्म साथ दिएका आफूनिकट ४० जनालाई केन्द्रीय समितिमा प्रवेश गराउन महतोले प्रयास गरेका थिए। तर, उनको यो प्रयास असफल भएपछि ठाकुर र महतोबीच टकराव बढेको हो।

सदभावनादेखिका नेतालाई केन्द्रीय समितिमा सिफारिस नगरेपछि समस्या उत्पन्न भएको महतोनिकट एक नेताको भनाइ छ।

यता, पार्टीमा आफ्नो ‘दबदबा’ बढाउने ‘अस्वभाविक’ प्रयास असफल भएपछि महतो रुष्ट बनेको ठाकुरनिकट नेताहरु बताउँछन्।

‘पार्टीमा उहाँ कार्यकारी अधिकार खोज्नुभएको छ। त्यसका लागि केन्द्रीय समितिमा आफूनिकटहरुलाई ल्याउन चाहनुभएको थियो। उनको यो प्रयास सम्भव नभएपछि रुष्ट बन्नुभएको हो,’ ठाकुरनिकट एक नेताले भने।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा पराजित भएपछि महतो पार्टीभित्र एक्लिएका छन्। एक प्रदेस सांसदबाहेक उनीनिकट अरु कोही पनि प्रतिनिधिसभा र प्रदेससभा सदस्यमा निर्वाचित हुनसकेनन्।

यतिबेला पार्टीभित्र मधेस प्रदेसमा प्रदेससभा सदस्य रहेका भतिजो उपेन्द्र महतोबाहेक उनीनिकट अरु कोही नरहेको लोसपा नेताहरुको भनाइ छ।

संघीय संसदमा लोसपाका ४ र प्रदेसमा ९ सांसद छन्। संघीय संसदमा अध्यक्ष ठाकुर आफैं र उनीनिकट एक जना तथा संघीय सरकारमा मन्त्रीसमेत रहेका शरतसिंह भण्डारीसहित उनीनिकट एक सांसद रहेको बताइएको छ।

प्रतिनिधिसभा र प्रदेससभामा निकटस्थ व्यक्ति निर्वाचित हुन नसके पनि पार्टीभित्र शक्तिशाली बन्न खोजेपछि ठाकुर र महतोबीच मतभेद बढेको देखिन्छ।

ठाकुर र महतोबीच लामो समयदेखि को शक्तिशाली भन्ने टकराव देखिँदै आएको छ। दुई नेताबीचको टकरावका कारण पार्टी विभाजनको तहसम्मै पुगेको आकलन लोसपाका नेताहरुले नै गरेका छन्।

सके पार्टी विभाजन गरेर लोसपाको नेतृत्व सम्हाल्ने नसके नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने रणनीतिमा महतो रहेको ठाकुरनिकट नेताहरुको बुझाइ छ।

‘केन्द्रीय समितिमा बहुमत भइदिएको भए सम्भवतः उहाँले पार्टी विभाजनतर्फ नै जानुहुन्थ्यो होला। अहिलेकै अवस्थामा यो सम्भव देखिँदैन,’ ठाकुरनिकट नेता भन्छन्, ‘विभाजनको प्रयास सफल हुन नसके आफ्नो पुरानो सदभावना पार्टीलाई जीवित गराउने प्रयास उहाँले गर्नसक्नु हुन्छ।’

तर, महतोनिकट नेताहरु दुई नेताबीचको टकराव पार्टी विभाजनको तहसम्म नपुगेको दाबी गर्छन्। उनीहरुकाअनुसार यतिबेला देखिएको समस्या नेतृत्वप्रतिको असन्तुष्टिमात्रै हो।

 

Tags: