नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमालेले संसद अवरूद्ध गर्ने
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरूद्ध गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमालेले प्रतिनिधिसभा बैठक अवरूद्ध गर्न लागेको हो।
विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपति पौडेलले प्रक्रिया नपु¥याएको एमालेको ठहर छ।
एमालेका प्रमुख सचेतक पदम गिरीले संसद छलेर राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको बताए।
विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरूको असहमति रहेको बताउँदै उनले संसद चल्न नदिने जिकिर गरे।
बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक हालसम्म सुरू हुन सकेको छैन।
आइतबारदेखि अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची छ।
राष्ट्रपति पौडेलले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। संसदको दुवै सदनले दुईपटक पारित गरेर पठाएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेकी थिइन्।
मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रहसहितको पत्र १२ जेठमा राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका थिए।