post-slider post-slider

संसदमा प्रधानमन्त्री दाहालले गरे रवि लामिछानेको बचाउ, सहकारी ठगीमा संलग्न नरहेको दाबी

Image
A A

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन्। उनले लामिछाने निर्दोष देखिएको नभनी उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको दाबी गरे।

उनले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे। 

प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको म‌ंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने बताए। 

'सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,' प्रधानमन्त्री प्रचण्डले भने, 'यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ। यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन।' 

सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूला-ठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेको बताए। उनले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रधानमन्त्री प्रचण्डले भने, 'हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन।'

प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्यौट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ्ग’ भएको सदनलाई जानकारी गराए।

Tags: