.png)

भीम रावलले देशभक्तहरू समेटेर नयाँ पार्टी खोल्ने

काठमाडौं- नेकपा एमालेबाट निष्कासनमा परेका पूर्वउपप्रधानमन्त्री भीम रावलले नयाँ राजनीतिक यात्रा सुरू गर्ने भएका छन्।
उनले झापाबाट देशदौडाहाको घोषणा गर्दै ७७ जिल्लामै पुग्ने बताएका छन्। आगामी योजनाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी उनको छ।
रावलनिकट एक नेताका अनुसार, देशदौडाहा पार्टी निर्माणको तयारीका लागि हो।
पत्रकार सम्मेलनमा एमालेले गरेका 'अन्यायपूर्ण व्यवहार'हरू उजागर गरिने र त्यसलाई जनतासम्म पुर्याइने उनले बताएका छन्।
माघ अन्तिम वा फागुनसम्म पुग्दा नयाँ पार्टी घोषणा हुने सम्भावना रहेको रावल पक्षका नेताहरूको भनाइ छ।
रावलले आफू बनाउने पार्टी कम्युनिष्ट हुने छैन भन्ने स्पष्ट गरेका छन्। उनका अनुसार, कम्युनिष्ट नाम राख्नैपर्ने आवश्यकता छैन। देशलाई डुब्नबाट बचाउन देशभक्तहरूको साझा पार्टी बनाउनु आवश्यक छ।
यस अवधारणालाई लिएर उनले विभिन्न क्षेत्रीय नेताहरूसँग भेटवार्ता तीव्र बनाएका छन्। डडेलधुराका नेपाली कांग्रेसका पूर्वनेता कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीले पनि रावलसँग भेट गरेका छन्।
जोशीका अनुसार रावलले देशभक्तहरूको साझा पार्टी" निर्माणका लागि सबैलाई आह्वान गरेका छन्।
यद्यपि, राजधानीमा भइरहेको भेटवार्तामा सहभागी धेरै नेताहरूको नाम सार्वजनिक नगरिएको स्रोतले जनाएको छ।
भीम रावलको यो पहलले नेपाली राजनीतिको परिदृश्यमा नयाँ ध्रुवीकरणको संकेत गरेको छ।