post-slider post-slider

संशोधनविनै बजेट पास गर्ने सरकारको तयारी

Image
A A

काठमाडौं- सरकारले संशोधनविनै बजेट पास गर्ने तयारी गरेको छ।

बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बजेट पारित गर्ने सरकारले तयारी गरेको हो।

बैठकमा विनियोजन विधेयक २०८० (आव २०८०/ ८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकहरू माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

त्यसपछि खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत भएपछि बजेट पास गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।

१५ जेठमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट प्रस्तुत गरेका थिए।

महतले प्रस्तुत गरेको बजेटमाथि सत्तारुढ दलहरूले विरोध जनाएका छन्। बजेट विभेदकारी र मन्त्रीमुखी भएको भन्दै उनीहरूले संशोधनको माग गरेका थिए।

तर, अहिले बजेट संशोधन गर्दा गलत सन्देश जाने भन्दै यथास्थितिमै पारित गर्ने सरकारले तयारी गरेको छ।

सत्ता साझेदार नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बजेटको विरोधमा देखिएको थियो।

एकीकृत समाजवादी संसदीय दलका उपनेता राजेन्द्र पाण्डे यथास्थितिमा बजेट पारित हुन नदिने सार्वजनिक रूपमै टिप्पणी गरेका थिए।

पार्टी अध्यक्ष माधवकुमार नेपाल बजेटको पक्षमा गए पनि आफूहरूले विरोधमा मतदान गर्ने चेतावनी दिएका थिए।

तर अहिले एकीकृत समाजवादी सर्तसहित बजेट पास गर्ने पक्षमा रहेको पाण्डेले बताएका छन्।

एकीकृत समाजवादीकै अर्का नेता मेटमणि चौधरी बजेटको पक्षमा मतदान गर्ने बताएका छन्।

त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलन गरेरै बजेटको विरोध गर्दै संशोधनविना पास हुन नदिने चेतावनी दिएका थिए।

बजेटमा विभेद भएकाले पास गर्न सहयोग गर्न नसकिने उनको भनाइ थियो।

यसअघि कांग्रेस, माओवादी केन्द्रलगायतका दलले बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।

यो दुवै दलले बुधबार प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थिति र बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

कांग्रेस र माओवादीबाहेकका सत्ता साझेदार दलहरूले बजेटका विषयमा धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ।

जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको बैठकबाट बजेट पास गर्न सघाउने कि नसघाउने भन्ने विषयमा निर्णय गर्न लागेका हुन्।

यसैगरी सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बजेटबारे आजै निर्णय गर्न लागेको छ।

 

Tags: