post-slider post-slider

कोसीमा टरेको हो मध्यावधिको सम्भावना?

Image
A A

काठमाडौं- सत्ता गठबन्धनले कोसी प्रदेसको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने भएको छ।

बिहीबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले आङ्बोलाई कोसीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो।

‘माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने।

उनका अनुसार सम्भव भए आङ्बोले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन्।

प्रदेस प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको दाबी पेस गर्न शुक्रबारसम्मको समय दिएका छन्।

प्रदेससभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमासंविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका एमालेका हिक्मत कार्कीले राजीनामा दिएपछि कोसीमा नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको हो।

विश्वासको मत पाउने सम्भावना नदेखेपछि कार्कीले गत शनिबार प्रदेससभा बैठकलाई सम्बोधन गर्दै राजीनामको घोषणा गरेका थिए।

यसअघि एमालेसँग सहकार्य गरेको राप्रपाले सघाउने संकेत पाएपछि सत्ता गठबन्धनले आङ्बोलाई मुख्यमन्त्रीका लागि अघि सार्ने निर्णयमा पुगेको हो।

‘उपधारा ३ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा २ बमोजिमको कुनै सदस्यले प्रदेससभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेस प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ,’ संविधानको उपधारा ५ मा व्यवस्था छ।

यसरी नियुक्त भएका मुख्यमन्त्रीले पनि नियुक्त भएको ३० दिनभित्र प्रदेससभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा मुख्यमन्त्रीको सिफारिसमा प्रदेस प्रमुखले प्रदेससभा विघटन गरी ६ महिनाभित्र अर्को प्रदेससभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने व्यवस्था संविधानले गरेको छ।

यसअघि नियुक्त भएको मुख्यमन्त्रीले बहुमत जुटाउन नसक्दा कोसी प्रदेसमा मध्यावधि निर्वाचनको सम्भावना बढेर गएको थियो।

गठबन्धनले प्रदेससभामा ६ सांसद भएको राप्रपाको साथ पाए तत्कालका लागि यो सम्भावना टर्ने देखिएको छ।

 

Tags: