post-slider post-slider

प्रधानन्यायाधीश श्रेष्ठले लिए सपथ

Image
A A

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई संसदीय सुनुवाई समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो।

सपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ सरकारी अधिकारीहरू उपस्थित थिए।

प्रधानन्यायाधीश श्रेष्ठको सपथग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामागर भने अनुपस्थित थिइन्।

राष्ट्रपति कार्यालयले पत्र नपठाएपछि उपसभामुख रानामगर सपथग्रहण समारोहमा सहभागी नभएको बताइएको छ।

यसअघिका सपथग्रहण समारोहमा राष्ट्रपति कार्यालयले उपसभामुखलाई बोलाउने अभ्यास रहेको थियो।

उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत हुन्।

श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्। २०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए।

त्यसको ६ वर्षमा जिल्ला न्यायाधीश भएका उनी २०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए। 

२०७० मा पुनरावेदन अदालत पोखराको कायममुकायम मुख्य न्यायाधीश भएका उनी २०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश नियुक्त भए।

त्यसको करिब दुई वर्षपछि २०७३ साउन १७ मा श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।

उनले २०८१ असोज २० मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने छन्।

प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ।

 

Tags: