post-slider post-slider

सेन्सर बोर्डको अनुमतिपछि पनि प्रदर्शन भएन ‘आदिपुरुष’

Image
A A

काठमाडौं - दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ विवादमा मुछिएपछि चलचित्र संघले काठमाडौं उपत्यकाका हलमा फिल्म प्रदर्शन नगर्न निर्देशन दिएको छ।

संघको निर्देशनपछि उपत्यकाका सबै हलहरूले शुक्रबार बिहानको प्रदर्शन रोकेका हुन्।

क्युएफएक्स, आइएनआइ, बिग मुभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन्।

फिल्म हलको छाता संस्था चलचित संघले देशभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितिका कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’ को बिहानी शो अनिवार्य रोक्न र उपत्यका बाहिर परिस्थिति हेरेर चलनाउन निर्देशन दिएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने संवान नहटाइए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने बताएका थिए।

मेयर साहको यो अभिव्यक्तिपछि चलचित्र संघले शुक्रबार आकस्मिक बैठक बोलाएको छ।

बैठकमा साहको अभिव्यक्तिबारे छलफल र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ।

सेन्सर बोर्डबाट अनुमति

विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले ‘आदिपुरुष’ लाई प्रदर्शन गर्न अनुमति दिएको थियो।

बिहीबार राति ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन्।

फिल्मममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यांशमा आपत्ति जनाउँदै बिहीबार अपराह्न बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो।

भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो।

तर, काठमाडौं महानगरका मेयर साहको अभिव्यक्तिले फिल्म प्रदर्शनमा संशय पैदा गराएको छ।

उनले भारतमा समेत यो विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन्।

साहको सचिवालयले पनि आफूहरूले तीन दिन प्रतिक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिएने जनाएको छ।

प्रभास र कृति सेनन अभिनित ‘आदिपुरुष’ रामायणको कथावस्तुमा आधारित छ। यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो।

 

Tags: