post-slider post-slider

हतारोमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण चुक्ता गर्न समस्या!

Image
A A

काठमाडौं-झन्डै २२ अर्ब रुपैया ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष पूरा भएको छ।

तर, अन्तर्राष्ट्रिय उडान नगण्य हुँदा ऋण कसरी तिर्ने भन्ने प्रश्न जटिल बन्ने देखिन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत वर्ष पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकै तामझामका साथ उदघाटन गरेका थिए।

हालसम्म चीनबाट दुई र भुटानबाट एउटा चार्टर जहाज विमानस्थलमा ओर्लिएका छन्।

जाजरकोट भूकम्पका बेला सहायता सामग्री लिएर चिनियाँ जनमुक्ति सेनाका दुईवटा कार्गो विमान आएका थिए।

हिमालयन एयरलाइन्सले काठमाडौंबाट विमानस्थल उदघाटनका दिन र त्यसपछि गरेको अर्को उडान आन्तरिक भए पनि क्यानले त्यसलाई पनि अन्तर्राष्ट्रिय उडानमा राखेको छ।

यसरी सातवटा अन्तर्राष्ट्रिय उडान भएका छन्।

ती उडानबाट २९६ जना यात्रु आवतजावत गरेको नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलले एक वर्षमा ३३ करोड रुपैयाँ आम्दानी गरेका छन्।

पुरानो विमानस्थलबाट हेलिकप्टर, अल्ट्रालाइट र जोमसोम उडान हुँदै आएको छ।

अन्तर्राष्ट्रिय उडानबाट करिब चार लाख रुपैयाँमात्र आम्दानी भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिएकी छन्।

उनका अनुसार ४२ यात्रु लिएर फर्किएको भुटानको ड्रुक एयरबाट यो आम्दानी भएको हो। अन्य विमानले पर्यटक लिएर आए पनि पोखराबाट यात्रु नलिइ फर्केका थिए।

चीनको एक्जिम बैंकबाट ऋण लिएर बनेको विमानस्थलको आम्दानीको तुलनामा ऋणको किस्ता निकै ठूलो छ।

हालसम्म ब्याज भुक्तानी र प्रतिबद्धता शुल्क गरी करिब ९५ करोड रुपैयाँ तिरेको क्यानले जनाएको छ। तर, गत असोजमै तिर्नुपर्ने रकम तिरेको छैन।

क्यानले पोखराका साथै क्यानको अन्य स्रोत र अन्य विमानस्थलबाट भएको आम्दानीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण र ब्याज तिरिरहेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण यसरी तिरेर नहुने भनेर ऋणको केही प्रावधान परिवर्तन गर्नुपर्ने नेपाल सरकारको अडान रहेको क्यानका सूचना अधिकारी भुसालले जानकारी दिएका छन्।

प्रधानमन्त्रीको चीन भ्रमणका बेला ऋणको केही भाग अनुदानमा परिवर्तन गर्ने कुरा भएकाले ऋण सम्झौताका केही सर्त परिवर्तन भएपछि तिर्ने भनेर पर्खिएको उनको भनाइ छ।

उदघाटनकै दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुने आशा पोखराका पर्यटन व्यवसायीको थियो।

त्यही आशामा पर्यटन व्यवसायीले होटल, रेस्टुरेन्टलगायत पर्यटकीय पूर्वाधारमा अर्बाैं रुपैयाँ लगानी गरेका थिए। अहिले उनीहरुमा चिन्ता थपिएको छ।

पर्यटकीय सहर विदेशका सहरसँग सोझै जोडियोस् भन्ने पोखरेलीहरुको चाहना पुरानै हो।

त्यसैले उनीहरु अन्तर्राष्ट्रिय विमानस्थलका लागि ४० वर्षअघि अधिग्रहण गरिएको जग्गामा छिटो विमानस्थल बनाउन माग गर्दै धर्ना र रिले अनसनसमेत बसेका थिए।

विमानस्थल बन्यो तर अत्यावयश्यक तयारीभन्दा उदघाटनमा हतारो गरिएको कतिपयको टिप्पणी छ।

विमानस्थल सञ्चालनमा आएको करिब दुई महिनापछि मात्र फागुन ११ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागु भयो।

त्यससँगै रात्रिकालीन उडानको बाटो खुल्यो र फागुन १८ गतेदेखि उडान गरियो। त्यस्तै विमानस्थल सञ्चालन भएको ११ महिनापछि मात्र अध्यागमन कार्यालय स्थापना गरियो।

अहिलेसम्म विमानस्थलभित्रै इन्धन डियो तयार नहुँदा ट्यांकरले पुरानो विमानस्थलबाट इन्धन ओसार्ने गर्छन्।

विमानस्थल सञ्चालन भएको करिब ६ महिनापछि सन् २०२३ जुन २१ मा पहिलो अन्तर्राष्ट्रिय उडान भएको थियो। सिचुवान एयरलान्सको न्यारोबडी जहाज चीनको छेङ्दुबाट आएको थियो।

त्यसमा नेपाल–चीन फ्रन्डसिप ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन ७२ जना खेलाडी, अफिसियलसहित ८४ जना पोखरा आएका थिए।

भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेप्टेम्बर ९ मा आएको ड्रुक एयरको उडान विदेशबाट आएको दोस्रो चार्टर्ड उडान हो।

त्यो उडानमा चालक दलका सात र तीन पर्यट थिए। फर्किँदा ४२ यात्रु लिएर गएको थियो।

चीनको कुनमिङ सहरबाट हिमालयन एयरलान्सले २३ नोभेम्बर २०२३ मा गरेको उडान अहिलेसम्मको अन्तिम चार्टर्ड उडान हो।

 

Tags: