post-slider post-slider

पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाजको अवतरण

Image
A A

काठमाडौं- पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ।

विमानस्थल निर्माण भएर उदघाटन भएको करिब ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडानको अवतरण भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बिहान चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जनाएको छ।

चीनबाट उडेको जहाज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो।

विमानले पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरू बोकेको थियो।

अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा गएका थिए।

अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आएको यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने हुनसकेको थियो।

पोखरा अन्तराष्ट्रिय विमानस्थल गत जनवरी १ तारिखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गरेका थिए।

विमानस्थल २२ अर्ब लगानीमा निर्माण भएको हो। विमानस्थल उदघाटनाका दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो।

त्यसयता यो विमानस्थलबाट आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रि उडान भने हुनसकेको थियो।

चीनको सिचुआन एयरलाइन्सको आज भएको चार्टड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो।

यो एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो।

पोखराको फेवातालमा असार ८ र ९ गते फेस्टिभल हुँदैछ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल हुन लागेको हो।

पोखरा पर्यटन परिषद र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल संघ नेपाल र नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिजले समेत सहयोग गरेका छन्।

बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

कार्यक्रमबाट पर्यटकीय सहर पोखरा र समग्र देशमा चिनियाँ पर्यटक आगमनमा वृद्धि हुने विश्वास लिइएको छ।

कार्यक्रममा सहभागी हुन चीनको लिङ्जी नगरका उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर्ड उडानबाट सिधै पोखरा उत्रिएका छन्।

 

Tags: