post-slider post-slider

एशियाली खेलकुद : महिला कबड्डीतर्फ नेपाल सेमिफाइनलमा

Image
A A

काठमाडौं- १९औं एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत महिला कबड्डीतर्फ नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

चीनको हाङचोउमा जारी प्रतियोगिता अन्तर्गत केही बेरअघि सम्पन्न खेलमा इरानले बाङ्लादेशलाई ५४-१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। सेमिफाइनल प्रवेश गरेसँगै १९औं एशियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ। नेपालले कम्तिमा कास्य पदक प्राप्त गर्नेछ।

कबड्डीमा सेमिफाइनल पुग्ने चार वटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।

महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एशियाली खेलकूदमा भाग लिएको हो। पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएको टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले बताए। महिला कबड्डी टोलीले विश्वमा नेपालको इज्जत बढाएको र जारी एशियाली खेलकूदमा मुलुकलाई पदकविहीन हुनबाट जोगाउन सफल भएको उनी बताउँछन्।

सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदकमा मात्र सीमित नरहने उनको भनाइ थियो।

नेपाल रहेको समूह ‘बी’ मा इरान र बाङ्लादेश पनि थिए। इरान भने समूह ‘बी’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बाङ्लादेश भने प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले पहिलो खेलमा सोमबार बाङ्लादेशलाई ३७-२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मंगलबार इरानसँग १९-४३ अङ्कले पराजित भएको थियो।

इरानले १८औं एशियाली खेलकूदमा पनि महिला कबड्डीमा स्वर्ण पदक जितेको थियो।

यस्तै महिला कबड्डीतर्फ समूह ‘ए’ मा भारत, थाइल्यान्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया छन्। नेपालले अब समूह ‘ए’ को विजेता टोलीसँग सेमिफाइनल खेल्ने छ।

Tags: