post-slider post-slider

दर्ताविनै सञ्चालित दुई अस्पतालमा काठमाडौं महानगरको ताला

Image
A A

काठमाडौं - काठमाडौं महानगरपालिकाले दर्ताविना सञ्चालनमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कानुनी प्रक्रिया र मापदण्ड पूरा नगरी लापारबाही भएको देखिएपछि महानगरले कारबाही प्रक्रिया अगाडि बढाएको हो।

दर्ताविनै सञ्चालनमा रहेका दुईवटा अस्पतालमा महानगरले सोमबार ताला लगाएको छ। बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र जडिबुटीमा रहेको सहयात्री हस्पिटल एन्ड बर्थिङ सेन्टरमा महानगरले ताला लगाएको हो।

महानगरका मेयर बालेन्द्र साहले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अस्पताललगायत स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ र प्रचलित स्वास्थ्यसम्बन्धी कानुनअनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने १० प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध नगराउने अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएका थिए।

मेयर साहले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सुविधान नदिने अस्पतालहरुको विवरण उपलब्ध गराउँदै कारबाही गर्न आग्रह गरेका थिए।

बस्नेतसँगको भेटमा उनले छुट सुविधासम्बन्धी विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको विवरणसमेत उपलब्ध गराएका थिए।

मन्त्रालयले अनुगमन नगरेपछि महानगरले नियमन र कारबाही प्रक्रिया अगाडि बढाएको हो।

अनुमति नै नलिइ गैरकानुनी रुपमा सञ्चालन भइरहेको अस्पताल सिल गरिएको महानगरले जनाएको छ।

अस्पतालमा सरसफाइको गुणस्तर कायम नभएको, पर्याप्त पार्किङ नभएको, नागरिक बडापत्र नराखिएको, शय्या व्यवस्थापनको गुणस्तर कायम नभएको पाइएपछि दुईवटा अस्पतालमा ताला लगाइएको महानगरको भनाइ छ।

काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि २०७७ ल्याएको छ। यस्तै संघीयले २०७७ सालमा ल्याएको जनस्वास्थ्य सेवा नियमावली र स्वास्थ्य सेवा सञ्चालन मापदण्ड हाल कार्यान्वयनमा छन्।

यी कानुनी प्रावधानहरु पूरा नगरी अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन भएपछि महानगरले अनुगमनलाई कडाइ गरेको हो।

 

Tags: