post-slider post-slider

सहकारी रकम अपचलन विवादमा रवि : पार्टीभित्र ‘विग्रह’ सुरू भएको हो?

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी संस्थाको रकम अपचलन गरेको प्रकरणमा आफू संलग्न नभएको दाबी गरेका छन्।

उनले आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै बिहीबार स्पष्टीकरण दिएका छन्।

शुभचिन्तकहरूलाई भ्रम नपरोस् भन्दै उनले लेखेका छन्,‘सार्वजनिक सुनुवाइमार्फत जनताको कठघरामा उभिँदै छु।’

उनीविरूद्ध तारन्तार समाचार आइरहँदा र उनले त्यसको प्रतिवाद गरिरहँदा रास्वपा संसदीय दलका उपनेता विश्वराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी यतिबेला निकै चर्चामा छ।

उनले लेखेका छन्,‘यदि तपाईं कसैको लागि, समाजका लागि अथवा देशका लागि सम्पत्ति बन्न सक्नुहुन्न भने घाँडो पनि नबिनिदिनुहोला। यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ भने पछाडि हटेर सहयोग गरिदिनुहोला।’

श्रेष्ठको यो आग्रह र अपेक्षा सभापति लामिछानेप्रति लक्षित रहेको आकलन गरिएको छ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँले बिहीबार सामाजिक सञ्जालमा त्यस्तै आशयको पोस्ट गरे।

‘हिजो माननीय विराजभक्त श्रेष्ठको एउटा गुम्सिएको ट्विट पढेँ...उहाँले इंगित गर्दै बिग्रिँदै गएको छविले आफ्नो निहित स्वार्थ स्थगन गरेर मार्ग प्रशस्त गर भनिएको थियो,’ बजगाइँले लेखेका छन्।

उनले आफ्नो पोस्टमा ‘नयाँ उदाएको पार्टीले मेरो पार्टी नेपाली कांग्रेसलाई निकै गाली गरेर त्यति कलिलो उमेरमा यति धेरै सिट’ जितेको भन्दै लेखेका छन्,‘अब आफ्नो घरभित्रको भ्रष्टाचार गुटसँगै निकै निर्मम र आक्रामक ढंगले उपरोक्त पार्टीको बारेमा कांग्रेसले प्रतिकार गर्नुपर्ने छ।’

सांसद श्रेष्ठको पोस्टमा प्रतिक्रिया जनाएका अन्य केहीले पनि त्यो सभापति लामिछानेप्रति लक्षित रहेको देखिन्छ।

यद्यपि श्रेष्ठ भने सामाजिक सञ्जालको त्यो टिप्पणी सभापति लामिछानेतर्फ लक्षित नभएको प्रतिक्रिया दिएका छन्।

सभापति रवि लामिछाने यसअघि नागरिकता र पासपोर्ट विवादमा परेका थिए। सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि गुमाउनुपरेको थियो।

उनले फेरि नेपाली नागरिकता कायम गराए। रिक्त रहेको चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उनी फेरि निर्वाचित भएर प्रतिनिधिसभा सदस्य बन्न सफल भए।

कतिपयले उनी एकपछि अर्को गम्भीर प्रकृतिका विवादमा जोडिने गरेको भन्दै रास्वपाका तुलनात्मक रूपमा विवादमुक्त र विषयविज्ञ नेताहरूका निम्ति लामिछाने अस्वीकार्य बन्ने आकलन गरेका छन्।

त्यही पृष्ठभूमि वा त्यस्तो अपेक्षा राख्नेहरूलाई सांसद श्रेष्ठको पोस्टले थप बल दिएको ठानिएको छ।

तर, सांसद श्रेष्ठ बाहिर चर्चा गरिए जस्तो आफ्नो पोस्टले पार्टीमा कुनै आशंका वा अविश्वास उत्पन्न नगरेको दाबी गरेका छन्।

यसअघिका दुई विवाद सभापति लामिछानेसँग व्यक्तिगत रूपमा सम्बन्धित थिए।

सहकारी संस्थाले गरेको आर्थिक अपचलन सर्वसाधारणसँग जोडिएको छ। देशका विभिन्न ठाउँमा विभिन्न संस्थाहरूबाट पीडितहरू कतै आन्दोलनमा छन् कतै हारगुहार गरिरहेका छन्।

त्यसैले यसपटक सभापति लामिछानेको नाम जोडिँदा त्यसले उनको पार्टीलाई पनि धक्का पुग्नसक्ने कतिपयको ठम्याइ छ।

पार्टी बैठकहरूमा सभापति लामिछानेले आफ्नो कुनै संलग्नता नभएको र कानुनअनुसार हुने काममा सहयोग गर्ने भन्दै धन्दा नमान्न आफूहरूलाई भनेको सांसद श्रेष्ठको भनाइ छ।

लामिछानेको एक्लो प्रभावमा पार्टी बनेकाले अन्य नेताले उनको आलोचना गर्न सक्दैनन् भन्ने बुझाइ पनि एउटा वृत्तमा पाइन्छ।

 

Tags: